फिलिपिन्समा समुद्री आँधी, मृत्यु हुनेको संख्या १ सय ८० नाघ्यो

२०७४ पुष ९ गते, आईतवार

काठमाडौं, ९ पुस । फिलिपिन्सको दक्षिणी क्षेत्रमा आएको समुद्री आँधीमा परी मृत्यु हुनेको संख्या १ सय ८० नाघेको छ । ‘टेम्बिन’ नाम दिइएको आँधीमा परेर कयौं व्यक्ति हराइरहेका छन् । मिन्दानाओ टापुका विभिन्न क्षेत्रमा पहिरो गएको छ । आँधीबाट बढी प्रभावित टुवोद र पिआगापो शहरका धेरै घर पहिरोले पुरिएका छन् । आँधीसँगै नदीहरुमा बाढी आएका कारण कतिपय गाउँ ध्वस्त भएका छन् । विद्युत् सेवा र सञ्चार सेवा अवरुद्ध भएका कारण उद्धारमा कठिनाई भएको अधिकारीहरुले जनाएका छन् ।
८० किलोमिटर प्रतिघण्टाको वेगमा आएको आँधी दक्षिणी पालावन क्षेत्रतर्फ बढिरहेको छ । सरकारले आँधी प्रभावित क्षेत्रमा आपतकालीन अवस्थाको घोषणा गरेको छ । मध्य फिलिपिन्समा गत हप्ता मात्र ‘काइ टाक’ नाम दिइएको आँधीका कारण धेरै जनाको मृत्यु भएको थियो । यो क्षेत्रमा सन् २०१३ मा आएको आँधीका कारण ५ हजारभन्दा बढीको मृत्यु भएको थियो । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु