वडाध्यक्षले कुटाई खाए
काठमाडौं, १६ पुस । सडक निर्माणको विषयमा विवाद हुँदा स्थानीय युवाको कुटाइबाट भेरी नगरपालिका–७ का वडाध्यक्ष चन्द्रबहादुर शाही र उनका छोरा महेन्द्र शाही घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख भावेश रिमालले दिएको जानकारीअनुसार वडाध्यक्ष चन्द्रबहादुर शाहीले डिलबहादुर शाहीलाई सडक निर्माणका लागि जिम्मा दिएका थिए ।
स्याउलीबजारदेखि पुन्मासम्म सडक निर्माण गर्ने जिम्मा डिलबहादुर शाहीलाई दिएपछि दीपेन्द्र शाहीलगायतका युवाले सो सडक आफूले निर्माण गर्न पाउनुपर्ने माग राखेर विवाद गरेका थिए । एक हप्तादेखि बढेको विवादले शनिबार वडाध्यक्ष चन्द्रबहादुर शाही र उनका छोरामाथि दीपेन्द्र शाहीमाथि आक्रमण गरी गम्भीर घाइते बनाइएको प्रहरी नायब उपरीक्षक रिमालले बताए । भेरी नगरपालिकाबाट रु २८ लाखमा स्याउलीबजारदेखि पुन्मासम्म सडक निर्माणका लागि बजेट विनियोजन गरिएको थियो । घाइते वडाध्यक्षको उपचारका लागि नेपालगन्ज लगिएको र आक्रमणकारी समूह फरार भएको प्रहरीले जनाएको छ ।