‘हितमान र झक्कुलाई घाइते हुने गरी कुटेको छैन ‘

२०७४ पुष १६ गते, आईतवार

काठमाडौँ, १६ पुस । नेकपा माओवादी केन्द्र नेता झम्क पराजुली ‘हिमाल’ले आफूले ३ नम्बर प्रदेशका इन्चार्ज हितमान शाक्य र संयोजक झक्कु सुवेदीलाई नकुटेको बताएका छन् । नेता हिमालले विज्ञप्ति जारी गर्दै संचारमाध्यमहरुमा आएजस्तो आफूले शाक्य र सुवेदीलाई हातपात नगरेको दाबी गरेका छन् । “पार्टी केन्द्रिय कार्यालयको छतमा घाम तापेर बसिररहेका इन्चार्ज शाक्य र संयोजक सुवेदीसँग मैले अन्यायपूर्णरुपमा मलाई समानुपातिक सुचिबाट हटाउनु र केही अनधिकृत मानिसहरुलाई किन ल्याएको भनि प्रश्न गरेको हुँ” हिमालले विज्ञप्तिमा भनेका छन् । “समानुपातिकतर्फ पार्टीले गरेको यो गल्ती सच्याउन र नेतृत्व आलोचित हुनपर्छ भन्ने बुझाईमा म रहेको समेत आम जनसमुदायमा जानकारी गराउँछु” विज्ञप्तिमा भनिएको छ । प्रदेशको समानुपातिकमा आफ्नो नाम नपरेपछि नेता पराजुलीले शुक्रबार केन्द्रीय कार्यालय पेरिसडाडामा हितमान शाक्य र झक्कु सुवेदीसँग विवाद बढ्दै गएपछि हातपात समेत भएको थियो । समानुपातिक बन्दसूचीमा नेता पराजुलीलको नाम एक नम्बरमा थियो तर अन्तिममा संयोजक झक्कु सुवेदीकी छोरी भावना, प्रेस सेन्टर संयोजक महेश्वर दाहालकी श्रीमती सीतालाई प्रदेश सभा सदस्य बनाइएको थियो । त्यसैगरी दोलखाका आङदेण्डी लामासँग मोटो रकम लिएर समानुपातिक सांसद बनाइएको तर आफूलाई हटाइएको भन्दै पराजुलीले विरोध गरेका थिए । लामा केही दिन पहिला मात्रै माओवादी केन्द्रमा प्रवेश गरेका थिए । कसैका छोरी, कसैका श्रीमती, कसैका बुहारीलाई सांसद बनाउने तर पार्टीमा योगदान गरेका, शहिद परिवारलगायतलाई किन हटाएको भन्दै शुक्रबार पार्टी मुख्यालयमा विवाद भएको थियो । विवाद भएको कुरा नेता पराजुलीले पनि स्वीकार गरेका छन् । भनाभन बढ्दै गएपछि नेता पराजुली शाक्य र सुवेदीबीच हात हालाहाल भएको कर्मचारीहरुले नै संचारमाध्यमहरुलाई बताएका थिए ।
यस बिषयमा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य झम्क पराजुलीद्वारा जारी विज्ञप्ति यस्तो छ – “हाम्रो पार्टी नेकपा माओवादी केन्द्रको ३ नं. प्रदेश कमिटिले पुष १४ गतेका दिन प्रदेशसभा अन्तर्गत समानुपातिक सांसदको अन्तिम नामावली निर्वाचन आयोगमा बुझाएको यहाँहरुमा सर्व्विदितै छ । यसअघि निर्वाचन आयोगलाई बुझाइएको अन्तिम नामावलीमा मेरो नाम १ नंम्बरमा रहेको र हाल बुझाइएको समानुपातिक नामावलीमा नाम नै नरहेकोप्रति मैले प्रदेशका इन्चार्ज हितमान शाक्य तथा संयोजक झक्कु सुवेदीसँग स्पष्ट हुन खोजेको घटनालाई हातपात भएको भनेर प्रचार भएको समाचारप्रति कुनै सत्यता नरहेको जानकारी गराउँछु ।
साथै पार्टी केन्द्रिय कार्यालयको छतमा घाम तापेर बसिररहेका इन्चार्ज शाक्य तथा संयोजक सुवेदीसँग मैले अन्यायपूर्ण रुपमा मलाई समानुपातिक सुचिबाट हटाउनु र केही अनाधिकृत मानिसहरुलाई किन ल्याएको भनि प्रश्न गरेको र स्पष्ट हुन खोजेको भने सत्य रहेको जानकारी गराउँदछु । साथै समानुपातिकतर्फ पार्टीले गरेको यो गल्ती सच्याउन र नेतृत्व आलोचित हुनपर्छ भन्ने बुझाईमा म रहेको समेत आम जनसमुदायमा जानकारी गराउँछु ।”

प्रतिक्रियाहरु

[anycomment]