प्यालेस्टाइनलाई आर्थिक सहयोग बन्द गर्ने चेतावनी
काठमाडौं, १९ पुस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्यालेस्टाइनलाई अमेरिकाले गर्दै आएको आर्थिक सहयोग बन्द गर्ने चेतावनी दिएका छन् । राष्ट्रपति ट्रम्पले इजरायलसँगको शान्ति वार्ता अगाडि नबढाए प्यालेस्टाइनलाई आर्थिक सहयोग रोक्ने चेतावनी दिएका हुन् । अमेरिकाले इजरायलको राजधानी जेरुसेलमलाई तोकिदिएपछि प्यालेस्टाइन नेताहरुले अमेरिकी मध्यस्थतामा हुने शान्तिवार्ता अस्वीकार्य हुने बताउँदै आएका छन् ।
त्यसैको प्रतिक्रियास्वरुप राष्ट्रपति ट्रम्पले प्यालेस्टाइनलाई आर्थिक सहयोग बन्द गर्ने चेतावनी दिएको बताइएको छ । ट्रम्पले गत डिसेम्बरमा जेरुसेलमलाई इजरायलको राजधानीको मान्यता दिने निर्णय गरेका थिए । उनको निर्णयलाई संयुक्त राष्ट्र संघले भने अस्वीकार गरिसकेको छ ।-एजेन्सी