मूल्यवृद्धिविरुद्धको प्रदर्शनमा झडप
काठमाडौं, २० पुस । नेपाल आयल निगमका अधिकारीहरुलाई ज्ञापनपत्र बुझाउन पुगेका विद्यार्थी र प्रहरीबीच झडप भएको छ । पेट्रोलियम पदार्थमा भाउ बढाएको भन्दै आन्दोलनमा उत्रिएका विद्यार्थी र प्रहरीबीच झडप भएको हो । बढेको मूल्य तत्काल फिर्ता गर्न माग गर्दै कार्यालयभित्र प्रवेश गर्न खोजेपछि विद्यार्थी र प्रहरीबीच झडप भएको थियो । विद्यार्थीले केहीबेर नाराबाजी गरेपछि भने उनीहरुलाई प्रवेश दिइएको थियो ।
निगमका महाप्रबन्धक सुशील भट्टराईलाई भेटेर अनेरास्ववियु, अखिल क्रान्तिकारी, युवा संघ र वाइसीएल नेपालले ज्ञापन बुझाएका हुन् । खाना पकाउने एलपी ग्यासमा भाउ बढाउँदा जनताको चुलोमै प्रहार भएको उनीहरुका भनाइ थियो । उनीहरुले परिचयपत्रका आधारमा विद्यार्थीलाई सहुलियतदरमा खाना पकाउने ग्यास उपलब्ध गराउने सरकार र विद्यार्थी संगठनबीचको सहमति कार्यान्वयन नभएकोमा पनि आक्रोश पोखे । ज्ञापनपत्र बुझ्दै महाप्रबन्धक भट्टराईले अन्तर्राष्ट्रिय मूल्यका आधारमा स्वचालित मूल्य निर्धारण प्रणाली अपनाइएकाले सोहीअनुसार भाउ बढेको जवाफ दिए ।