काठमाडौंको तापक्रम शून्य डिग्री

२०७४ पुष २३ गते, आईतवार

काठमाडौं, २३ पुस । मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौंको तापक्रम शून्य डिग्रीमा झरेको छ । सन् २०१० पछि काठमाडौंको तापक्रम शून्यमा झरेको हो । अघिल्लो वर्ष काठमाडौंको न्यूनतम तापक्रम ०.४ सम्म झरेको थियो । महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार, आकाशमा बादल नहुँदा र घाम नलाग्दा काठमाडौंको चिसो सन् २०१० पछिकै धेरै भएको हो । उत्तर–पश्चिम वायु चलिरहेकाले अबको २–३ दिन काठमाडौंको न्यूनतम तापक्रम शून्यकै वरिपरि रहने प्रक्षेपण पौडेलको छ ।
महाशाखाका अनुसार, काठमाडौंमा सन् १९७८ मा अहिलेसम्मकै कम माइनस ३.५ डिग्री तापक्रम मापन भएको थियो । काठमाडौंको तापक्रम सन् १९७८ पछि सन् २००० मा माइनस ३ मापन भएको थियो । मौसम पूर्वानुमान महाशाखाका अनुसार, सबैभन्दा चिसो जुम्लामा छ । आइतबार बिहान ८ः४५ बजे यहाँको तापक्रम माइनस ८ दशमलब ७ डिग्री सेल्सियस मापन भएको छ । काठमाडौंपछि सबैभन्दा कम तापक्रम दाङ, दीपायल र वीरेन्द्रनगरमा छ ।

प्रतिक्रियाहरु

[anycomment]