मोर्चासगको वार्ता निष्कर्षविहीन

काठमाडौ, ७ साउन । संघीय लोकतान्त्रिक मोर्चा र उच्चस्तरीय राजनीतिक समितिसंगको वार्ता निष्कर्षविहीन भएको छ ।उपेन्द्र यादव नेतृत्वको संघीय लोकतान्त्रिक मोर्चाले राष्ट्रपतिले जारी गरेको २५ बुँदे बाधा अड्काउँ फुकाउ अध्यादेश संशोधनको माग गरेपछि उच्चस्तरीय राजनीतिक समितिसंगको वार्ता निष्कर्षविहीन भएको हो ।अन्तराष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा भएको वार्तामा मोर्चाले २५ बुँदे बाधा अड्काउँ फुकाउ अध्यादेश संशोधनको माग गरेपछि वार्ता निष्कर्शविहीन भएको हो । प्रमुख चार राजनीतिक शक्ति सम्मिलित उच्चस्तरीय राजनीतिक समितिले समिति र सरकार विस्तार गर्न सकिने र अन्य मुद्दमा सहमति गर्दै जाने प्रस्ताव गरे पनि मोर्चाले सबै माग तत्काल सम्बोधन गर्नु पर्ने अडान राखेको स्रोतले बताएको छ ।
मोर्चाले बैठकमा जनसंख्याका आधारमा क्षेत्र निर्धारण गर्नुपर्ने, मन्त्रिपरिषद अध्यक्षले प्रधानन्यायधिश पदबाट राजीनामा दिनुपर्ने, मतदाता नामाबली संकलन कार्यलाई निरन्तरता दिनुपर्ने, २०६४ सालको ब्यवस्था अनुसार नै निर्बाचन प्रणाली कायम गरिनुपर्ने लगायतका १३ बुँदे माग मोर्चाले राखेको थियो ।
मोर्चामा मधेशी जनाधिकार फोरम नेपाल, राष्ट्रिय मधेश समाजवादी पार्टी, खुम्वुवान स्वायत्त राज्य परिषद, ताम्सालिङ राष्ट्रिय दल, जनमुक्ति पार्टी नेपाल, राष्ट्रिय जनमुक्ति पार्टी लगायतका दलहरु आवद्ध रहेका छन् ।