सवारी दुर्घटनामा ३ को मृत्यु, १० घाइते
काठमाडौं, ५ माघ । अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिका–६ सखुवामा बिहीबार साँझ जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । तातोपानीबाट बाह्रबीसेतर्फ आउँदै गरेको ना१च ९९५० नम्बरको जिप दुर्घटना हुँदा बाह्रबीसे–८ मानेश्वराकी १४ बर्षीया गोमा तामाङ, वडा नं ६ की १५ बर्षीया पासाङ तामाङ र वडा नं ९ की १६ बर्षीया समीक्षा गुरुङको मृत्यु भएको इलाका प्रहरी कार्यालय बाह्रबीसेका प्रहरी निरीक्षक पंचकुमार बाखुले बताए । घाइतेमध्ये गम्भिर अवस्थाका ३ जनाको काभ्रे तथा काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । सामान्य घाइते ७ जना भने स्थानीय अस्पतालमा प्राथमिक उपचारपछि घर फर्किएका छन् । अनियन्त्रित भई गाडी सडकमै पल्टिएको प्रहरीले जनाएको छ ।
यसैगरी , गएराति भक्तपुरमा भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने अन्य तीनजना घाइते भएका छन् । प्रहरीका अनुसार दोलखा भिमेश्वर नगरपालिका–१३ का ३५ वर्षीय रोशनकुमार बस्नेतको मृत्यु भएको हो । गम्भीर घाइते भएका बस्नेतको उपचारको क्रममा भक्तपुर अस्पतालमा राति सवा ९ बजे मृत्यु भएको हो । गएराति ९ बजे काठमाडौंबाट भक्तपुरतर्फ जाँदै गरेको बा२ज २०४१ नम्बरको ट्याक्सीमा पछाडीबाट गइरहेको बा४४प ५१५२ र बा८५प ७०४६ नम्बरको दुईवटा मोटरसाईकल ठोकिएका थिए । दुर्घटनामा ५१५२ नम्बरका चालक रोशन कुमार बस्नेतको मृत्यु भएको हो । दुर्घटना सोही मोटरसाईकलमा पछाडी सवार काभ्रे कोशीपारी–८ का केदार खनाल, ७०४६ नम्बरका चालक दोलखाको शैलुङ्ग गाउपालिकाका मनोज योञ्जन र रामेछापका धावा मोक्तान घाइते भएका हुन् । घाइते सवैको भक्तपुर अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा संलग्न तीनवटै सवारी साधनलाई प्रहरी वृत जगातीले नियन्त्रणमा लिएको छ ।