सीमा अतिक्रमणकारीलाई लखेट्ने चेतावनी

काठमाडौं, १३ माघ । अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघले सीमा अतिक्रमणकारीलाई लखेट्ने चेतावनी दिएका छन् । भारतसँग सीमाना जोडिएको पर्सा जिल्लाको छपकैया, सिर्सिया, सुन्दरपुरलगायत दर्जन ठाउँमा भारतले नेपाली ५० बिगाह जमिन मिचेर हस्तक्षेप गरेपछि मजदुर महासंघले सो चेतावनी दिएको हो । आज संवाद डबलीमामा अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको केन्द्रीय समितिको बैठकका निर्णयहरु सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा महासंघका प्रतिनिधिहरुले मिचेर नेपाली जमिनलाई भारतले तत्काल फिर्ता गरेर आफ्नो ठाउँमा नफर्किए मजदुरहरुले लखेट्ने बताए । महासंघका संयोजक एवं नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य अमर झाँक्रीले भारतीय साम्राज्यवादले पर्सा जिल्लाको सिर्सिया, सुन्दरपुर, छपकैयामा स्थानीय नेपालीको ५० बिगाहभन्दा बढी भूमिलाई रातारात सीमा स्तम्भ सारेर भारतमा गाभेर अतिक्रमण गरेको भन्दै भत्सर्ना गरेका छन् । साथै भूमि अतिक्रमणबाट भारतीय अतिक्रमकारीलाई लखेट्न देशभक्त, मजदुर, श्रमजीवि वर्गलाई संघर्षमा एकजुट हुन महासंघले अपिल गरेको छ । देशको एक इन्च जमिन मिच्न नदिन श्रमजीविहरु जस्तोसुकै मूल्य चुकाउन तयार रहेको बताउँदै महासंघका संयोजक झाँक्रीले वर्तमान दलाल संसदीय सत्ताबाट सीमाना र त्यस क्षेत्रमा रहेका नेपालीहरुको जीवनको रक्षा हुन नसक्ने बताए ।
बाह्य हस्तक्षेपकारी र आन्तरि दलाल संसदीय सत्ताविरुद्ध एकै पटक लड्नुपर्ने बेला निकट आइसकेको उनको भनाई छ । दलाल संसदीय सत्ताले केही समयअघि संघ र प्रदेश चुनावको नाममा नाटक मञ्चन गरेको बताउँदै निर्वाचनपछि खडा गरिएका सामाजिक दलाल पूँजीवादले देशमा राजनीतिक स्थिरता र समृद्धि कायम हुने भ्रम फैलाएको भन्दै आपत्ति जनाए । निर्वाचनयता उपभोग्य वस्तुको बजारभाऊ १५ प्रतिशले मंहगिएको र दलाली–भ्रष्टाचार, राष्ट्रघात, जनघातले व्याप्त रुप लिएको भन्दै ‘तीन महिना ‘मजदुर जागरण अभियान’ संचालन गर्ने निर्णय केन्द्रीय समिति बैठकले लिएको जानकारी पत्रकार सम्मेलनमा दिए । अभियानमा सामाजिक दलाल पूँजीवादी तत्व र पृष्ठपोषक टे«ड युनियनहरुको भण्डाफोर, आम मजदुरहरुलाई संगठित गर्ने र मजदुर विरोधी दलालहरुका विरुद्ध संघर्ष छेड्ने सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । ‘मजदुरविरोधी दलाल सत्ताविरुद्ध चौतर्फी संघर्ष गरौं, वैज्ञानिक समाजवादी सत्ताका लागि सम्पूर्ण मजदुर एक हौं’ लाई अभियानको मुख्य नारा तय गरिएको छ ।
मजदुरलाई एकीकृत र संगठनलाई सुदृढ तुल्याउने गरी संगठनको कामलाई प्रभावकारी बनाउन कमाण्ड संरचना र शक्ति विन्यास गर्नुका साथै श्रमजीवि वर्गको स्वास्थ्य, शिक्षा, उत्पादन, गाँसवास, सुरक्षा र अधिकारको प्रत्याभूत गर्नुको साटो वर्तमान दलाल सत्ताले अगाडि सारेको श्रम ऐन र विधेयकहरुलाई अस्वीकार गर्ने निर्णय लिइएको जानकारी पत्रकार सम्मेलनमा दिइयो । पत्रकार सम्मेलनमा संगठनका पूर्वी कमाण्ड संयोजक विजयराज प्यासी, कार्यालय सदस्य देव परियार, गोकुल दाहाललगायत मजदुरहरु नेताहरुले धारणा राखेका थिए ।