दलित र एकल महिलालाई ५५ बर्षमै भत्ता

२०७४ माघ १४ गते, आईतवार

काठमाडौं, १४ माघ । कामचलाउ हैसियतमा जथाभावी निर्णय गरेर आलोचना खेपिरहेका प्रधानमन्त्रीले त्यसलाई थप निरन्तरता दिने संकेत गरेका छन् ।त्यसलाई ‘प्रतिबद्धता पूरा गरेको’ भन्दै उनले अनुचित लागे आउने सरकारले खारेज गरिदिए हुने बताएका छन् । निर्बाचन आचार संहिता लागेयता सरकारलाई दैनिक प्रशासन चलाउनबाहेक थप संबैधानिक तथा कानुनी अधिकार छैन । तर प्रधानमन्त्री शेरबहादुर देउवा निकै अघि बढेर राज्यको ढुकुटीमै दुरगामी असर पार्ने सस्तो लोकप्रियताका कार्यक्रममा अग्रसर भइरहेका छन् । त्यस्ता दर्जनभन्दा बढी प्रस्ताव मन्त्रीपरिषदमा विचाराधीन छन् । तिनलाई जानुअघि टुंग्याउने उनको मनसाय छ ।
दलित र एकल महिलालाई ५५ बर्षमै भत्ता
जाँदाजाँदै जथाभावी निर्णय गर्न थालेको देउवा सरकारले दलित र एकल महिलाले सामाजिक भत्ता पाउने उमेरसमेत घटाएको छ । वृद्धभत्ता पाउने उमेर ६५ वर्ष बनाएकै दिन बसेको मन्त्रिपरिषद् बैठकले दलित र एकल महिलाले सामाजिक भत्ता पाउने उमेरसमेत घटाएको जानकारी प्रधानमन्त्री कार्यालय स्रोतले दिएको छ। अब दलित र एकल महिलाले ५५ वर्ष पुगेपछि सामाजिक भत्ता पाउन थाल्नेछन् ।
सरकारले यसअघि दलित र एकल महिलाले ६० वर्ष पुगेपछि मासिक एक हजार रुपैयाँ सामाजिक भत्ता पाउँथे भने अब ५५ वर्ष पुगेपछि त्यस्तो सुविधा पाउन थाल्नेछन् । प्रतिनिधिसभा चुनाव भइसकेपछि राजनीतिक रूपमा कामचलाउ हैसियतमा पुगेको देउवा सरकारले राज्यको ढुकुटीमा दीर्घकालीन असर पुर्‍याउने निर्णय गरेको यो पछिल्लो शृंखला हो । -कान्तिपुर दैनिकबाट

प्रतिक्रियाहरु

[anycomment]