एफबीआईका उपनिर्देशकद्वारा राजीनामा
काठमाडौँ , १६ माघ । अमेरिकाको संघीय जाँच ब्युरो (एफबीआई)का उपनिर्देशक एन्ड्रयु मकेबले पदबाट राजीनामा दिएका छन् । राष्ट्रपति डोनल्ड ट्रम्पले मकेबमाथि धेरै पटक राजनीतिक पूर्वाग्रहको आरोप लगाएका थिए । अमेरिकी टेलिभिजन सिबिएस न्यूजले आगामी मार्चमा कार्यकाल समाप्त हुन लागेका मकेबलाई पद छाड्न बाध्य पारिएको जनाएको छ ।
ट्रम्पले मकेबलाई पद छाड्न भनेको खबर सार्वजनिक भएको थियो । गत मेमा राष्ट्रपति ट्रम्पले एफबीआइका तत्कालीन निर्देशक जेम्स कोमीलाई बर्खास्त गरेपछि मकेबले केही समय कार्यवाहक निर्देशकको रुपमा काम गरेका थिए । सन् २०१६ को राष्ट्रपतीय चुनावमा रुसले हस्तक्षेप गरेको आरोपबारे छानविन गरिरहेका बेला ट्रम्पले कोमीलाई पदबाट बर्खास्त गरेका थिए । ट्रम्पले मकेबमाथि हिलारी क्लिन्टनबाट आफ्नी पत्नी जिल मकेबलाई भर्जिनिया प्रान्तको सीनेटमा उम्मेदवारी दिन चन्दा लिएको आरोप लगाएका थिए । उनले राष्ट्रपतीय चुनावमा मकेबले कसलाई मत हाले भनेर प्रश्न सोधेको समेत बताइएको छ । -एजेन्सी