‘वाम गठबन्धन नयाँ षड्यन्त्रको कडी’

काठमाडौं, २१ माघ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले अहिलेको संसदीय चुनावी कार्यक्रम जनताको सत्ता र व्यवस्थालाई स्थापित गर्ने चुनाव नभएर नेपालमा सामन्तवाद र राजतन्त्रको अन्य भइसकेपछि साम्राज्यवादीहरुको मुख्य योजनामा रातारात नेपालमा उब्जाएको दलाल पुँजीपति वर्ग र त्यसको सत्ता र व्यवस्थालाई सुद्रिण गर्ने मूर्खतापूर्ण हर्कतका साथ अगाडि आएको बताएका छन् । प्रवक्ता प्रकाण्डले त्यसलाई रोक्नका लागि र धक्का दिन क्रान्तिको एउटा नयाँ प्रक्रिया अघि बढिरहेको बताउँदै त्यो क्रान्तिको मोडल भनेको एकीकृत जनक्रान्ति भएको ठोकुवा गरेका छन् । उनले जनताले अहिलेसम्म हासिल गरेका उपलब्धिको रक्षा गर्दै त्यसको आधारमा आगामी क्रान्तिको तयारीको कार्यक्रमको रुपमा एकीकृत जनजागरण अभियान अघि बढाएको बताएका छन् । प्रवक्ता प्रकाण्डले एमाले र नेकपा माओवादी केन्द्रले वाम गठबन्धन बनाएर आपूmहरुलाई ‘सच्चा’ कम्युनिष्ट भन्दै जनतासामु भ्रम सिर्जना गरिरहेको बताए । उनीहरुले समाजवाद, समृद्धि, उन्नति भनको यही हो भनेर जनतालाई सपना बाँडिरहेका छन् । यो सब साम्राज्यवादीहरुको डिजाईनमा नेपालका नयाँ र पुराना दलालहरुले गरेको भ्रम र सपना भएको, नेपाल र नेपालीलाई सधैँ अधिकारविहीन र पछौटे बनाइराख्ने चाल भएको प्रकाण्डले ठोकुवा गरेका छन् । उनले भने एमाले र माओवादी केन्द्रको गठबन्धन वाम नै होइन । २१ औँ शताब्दीमा साम्राज्यवादको चरित्र बोकेर, उत्तर साम्राज्यवादी बनेर जसरी अगाडि आएको छ, त्यसैबाट सृजना गरिएको यो एउटा खतरनाक प्रवृत्ति हो यो ।
प्रवक्ता प्रकाण्डले भने– नयाँ षड्यन्त्रको एउटा कडी भनेकै वाम गठबन्धन, कम्युनिष्टको नाममा समाजवाद, समृद्धि र उन्नतिजस्ता गुलियो नारा अघि सारेर पाँच वर्षसम्म वाम सरकार बने उलटपुलट भइहाल्छ झैँ गरेर जनतामा भ्रम दिइरहेका छन् । यसो गर्नुमा दलाल संसदवादीहरुको चरित्र नै हो । त्यसैले यो चरित्रको भण्डाफोर गर्नु नै क्रान्तिको एउटा मुख्य अभिभारा हो । त्यही काम गर्न नेकपाले एकीकृत जनजागरण अभियान कार्यक्रम सुरु गरेको उनले बताए । प्रवक्ता प्रकाण्डले एकीकृत जनजागरण तथा अभियान भण्डाफोर अभियान कार्यक्रमभित्र गर्नुपर्ने केही महत्वपूर्ण विषयहरुअन्तर्गत– पहिलो, एमाले र माओवादीको गठबन्धन वाम होइन, काँग्रेस र एमाले, काँग्रेस र वामगठबन्धन अथवा लोकतान्त्रिक र वाम गठबन्धन दुईवटै एउटा सिक्काको दुई पाटो हो । सिक्का भनेको दलाल पुँजीवादी हो, दलाल पुँजीपति वर्गको सत्ता र त्यसको व्यावस्था । त्यसका दुईवटा पाटा मात्र हुन् । यो कुरा जनतामा राम्ररी बुझाउन जरुरी छ , त्यो कुरा हामी बुझाउँछौँ ।
दोस्रो, दलाल–ससंदीय व्यवस्थाले समृद्धि, उन्नति गर्छ कि गर्दैन ? यसले समृद्धि, उन्नति केही पनि कहिल्यै गर्दैन । सत्ता र कुर्सीको निम्ति अझ विदेशी शक्तिहरुका अगाडि थप आत्मसमर्पण गर्छ । विदेशी शक्तिहरुलाई अतिक्रमण र हस्तक्षेपलाई निम्त्याउँछ । आत्मसमर्पण गरेर राष्ट्रघात गर्छ । देशमा भ्रष्टचार, कमिसन, जनविरोधी हर्कतलाई मलजल र सहयोग गर्छ । जसका कारण देश र जनताको अस्तित्वमाथि नै प्रश्नचिन्ह उठाउने विवशता पैदा गराउँछ । त्यसकारण देश र जनतालाई बेफाइदा गर्ने र हितलाई मेटाउने हल्ला र भ्रमबाट जनतालाई मुक्त बनाउन भण्डाफोर कार्यक्रमले ठूलो सहयोग गर्छ भन्ने हाम्रो विश्वास छ । त्यस निम्ति सबैखाले उत्पीडनबाट मुक्त र स्वतन्त्र देश र नागरिक हुन नेपाल कम्युनिष्ट पार्टीले क्रान्तिको नेतृत्व गरिरहेको छ । यसमा संगठित भएर निर्णायक क्रान्तिका लागि आगामी आन्दोलनमा आपूmलाई तयार गर्नुको विकल्प नेपाली जनताका अगाडि अरु छैन भन्ने कुरा राम्ररी बुझाउने कोसिस अभियानका क्रममा भरपुर हुन्छ ।
तेस्रो कुरा, जनतालाई संगठित गर्न संगठनात्मक संरचनालाई बलियो बनाउँछौँ । संगठनबिना क्रान्ति सम्पन्न हुन सक्दैन भन्ने कुरा कम्युनिस्ट पार्टीले राम्ररी बुझेको छ । त्यो कुरा जनताको घरघरमा पुगेर कार्यान्वयन गर्नेछौँ । चौथो, अहिलेका दलाल सत्ताले गरेका राष्ट्रघात, जनताका अधिकार खोसेर गरिएका जनघात र कठिनतम जनजीविकाका विषय असाध्यै जर्जर बनिरहेका छन् । यसलाई भत्काउन पनि नयाँ ढङ्गले संघर्ष गर्नका लागि कार्यक्रमसहित जनतालाई आह्वान गर्ने रहेको बताए ।