गाउँपालिका अध्यक्षको विरुद्ध रिले अनसन
काठमाडौं, २५ माघ । सप्तरीको तिलाठीबासीले गाउँपालिका अध्यक्षको मनपरी विरुद्ध रिले अनसन शुरु गरेका छन् । तिलाठी-कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिश सिंहले एकलौटी रुपमा गाउँसभा सम्पन्न गरेर गाउँपालिकाको नाम र केन्द्र परिवर्तन गराएको भन्दै तिलाठीबासीले रिले अनसन शुरु गरेका हुन् ।
नेकपा एमालेका नेता देवनारायण यादवसहित तिलाठीवासीले अनिश्चितकालिन रिले अनसन सुरु गरेका हुन् । गाउँपालिका अध्यक्ष सिंहले वडा नम्बर १ का वासिन्दालाई जानकारी नै नदिई गाउँ परिषद् गराएर केन्द्र र नाम परिवर्तन गराएको भन्दै उनीहरुले विरोध गरेका हुन् । अनसनमा बसेकाहरुले गाउँपालिकाको पहिलेकै नाम र केन्द्र रहनुपर्ने, प्रशासनीय अधिकृतमाथि छानविन र कारवाही गर्नुपर्ने लगायत ५ वुँदे माग राखेका छन् । उनीहरुले आफूहरुका माग सम्बोधन नभए आमरण अनसन बस्ने चेतावनी दिएका छन् ।