ओलीलाई दोहो-याएर सपथ लिन सुझाव

काठमाडौं, ४ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नवनियुक्त प्रधानमन्त्री केपी ओलीलाई दोहो-याएर पद तथा गोपनीयताको सपथ लिन सुझाव दिएका छन् । ओलीले सपथ लिने क्रममा ‘देश’ छुटाएको भन्दै उनले सो सुझाव दिएका हुन् । थापाले ट्वीट गर्दै भनेका छन्, ‘अमेरिकी राष्ट्रपति ओवामाले सपथमा सामान्य त्रुटि हुँदा भोलिपल्ट आफ्नै कार्यकक्षमा दोहो¥याएर सपथ लिएका थिए । प्रधानमन्त्री केपी ओलीले सपथमा ‘देश’ शब्द उच्चारण गर्न छुटाउनु भयो । निश्चय नै यो नियतवश होइन। त्यसर्थ राष्ट्रपति समक्ष पुनः सपथ लिई अभिलेख सच्याउन सल्लाह दिन्छु । सपथमा देश छुट्नु राम्रो होइन ।’
ओलीले ईश्वरको नाम नलिन खोज्दाखोज्दै देशसमेत भन्न भुलेका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले जे भन्यो त्यही सपथ लिनुपर्नेमा उनले ईश्वर शब्द छल्न खोज्दा ‘देश’ शब्द पनि छुटेको थियो । सामाजिक सञ्जालहरूमा ओलीको सपथलाई लिएर विरोधीहरूले आलोचना गरिरहेका छन् । निर्वतमान वाणिज्यमन्त्री तथा नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले पनि सपथमा ‘देश’ शब्द छुटाएको भनेर आलोचना गरेका छन् ।
यता नयाँशक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले भने ओलीले प्रधानमन्त्री बनेलगत्तै देशबिकाशका लागि गरेको घोषणा राम्रो भएको प्रतिक्रिया दिएका छन् । बिहीबार सामाजिक संजाल ट्वीटरमा ट्वीट गर्दै भट्टराईले नवनियुक्त प्रम ओलीले पहिलो महत्वपूर्ण नीतिगत घोषणा गरेको बताएका छन् । प्रत्येक स्थानीय तहमा एक प्राविधिक शिक्षालयको स्थापना गर्ने घोषणा एकदमै उत्कृष्ट रहेको भट्टराईको बुझाई छ । ओलीलाई बधाई तथा शुभकामना दिदै डा भट्टराईले भनेका छन् -‘नवनियुक्त प्रम ओलीको पहिलो महत्वपूर्ण नीतिगत घोषणा- प्रत्येक स्थानीय तहमा कमसेकम एक प्राविधिक शिक्षालयको स्थापना- विल्कुल सही छ!समृद्धिको आधार नै दक्ष जनशक्ति हो!तर यो घोषणा मात्र नहोस्!हाम्रो विगतको अनुभव सुखद छैन।त्यो परम्परा तोड्नोस् प्रमज्यू, हार्दिक शुभकामना !’