ओली–प्रचण्ड वार्ता निष्कर्षहीन

काठमाडौं, ५ फागुन । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीचको वार्ता विना निष्कर्ष टुंगिएको छ । आज बिहान ओलीको नीजि निवास बालकोटमा भएको करिब ४५ मिनेट लामो वार्ता निष्कर्षहीन भएको बताइएको छ ।
पार्टी एकता र मन्त्रिमण्ड विस्तारबारे दुबै अध्यक्षबीच ‘वान टु वान’ वार्ता भएको थियो । वार्तमा दुबै पार्टीले अा-अाफ्ना अडान ओली र प्रचण्डले दोहोर्याएको बताइएको छ । दुबै अध्यक्षबीच परिणाममुखी वार्ता नभएपछि अाइतबार पार्टी एकता संयोजन समितिको बैठक बोलाउने सहमति मात्रै भएको छ । पार्टी एकता र सरकार विस्तारको लागि महत्वपूर्ण रुपमा हेरिएको वार्तामा अाइतबार संयोजन समितिको बैठक बोलाउने विषयमा मात्रै दुबै अध्यक्ष सहमत भए ।
बालकोटबाट बाहिँदै माके अध्यक्ष प्रचण्डले वार्ता सकारात्मक भएको र छिट्टै पार्टी एकताको लागि थप छलफल गर्न अाइतबार संयोजन समितिको बैठक बोलाइएको जानकारी दिए । दुबै पार्टीबीचको एकता अन्तिममा अाएर मार्ग निर्देशको सिद्धान्तमा ब्रेक लागेको थियो । माके माओवाद छोड्न तयार भएपनि एमालेले जबज छोड्न नसकिने बताएपछि एकता रोकिएको थियो । एमालेले जबजलाई नछोडेसम्म एकता नहुने माकेका नेताहरुले बताउँदै अाएका छन् । तर एमालेभित्र छोड्नेभन्दा पनि जबजलाई झन् बलियो बनाउनु पर्ने बहस सुरु भएको छ ।