दाहाल-ओलीलाई जनसत्ताले वारेन्ट जारी गर्ने

२०७४ फाल्गुन १६ गते, बुधबार

काठमाडौं , १६ फागुन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले नेपाली जनताको परिवर्तनको बाटोलाई रोक्न खोज्ने सामाजिक फासीवादी र दलाललाई पूर्जी काट्ने चेतावनी दिएको छ । सरकारले नेकपाका महासचिव ‘विप्लव’लाई झुठा अभियोग लगाएर पक्राउ गर्न देशभर सुरक्षा निकायलाई सर्कुलर जारी गरेको समाचार बाहिर आएकै दिन नेकपाका पोलिटब्यूरो सदस्य रहेका नेता ओमप्रकाश पुनले सो चेतावनी दिएको हो । महासचिव विप्लवको नाममा कपिलवस्तु प्रहरी कार्यालयले पक्राउ पूर्जी जारी गरेपछि नेकपा आक्रोशित बनेको छ । सोही विषयमा नेकपाका नेता पुनले आक्रोश पोखेका छन् । बुधबार आफ्नो फेसबुक पेजमा स्टाटस लेख्दै नेता पुनले प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष खड्गप्रसाद ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई ‘सामाजिक फासीवादी दलाल’को संज्ञा दिँदै जनसत्ताले उनीहरुको घरमा पक्राउ पूर्जी जारी गरिने उल्लेख गरेका छन् ।
नेता पुनले देशमा साम्राज्यवादी दलालहरुको नेतृत्वमा जनताको अधिकार छिन्ने संसदीय दलाल पूँजीवादी सत्ता चलिरहेको भन्दै त्यसको सट्टा जनताको अधिकार स्थापित गर्न नेकपाका महासचिव विप्लवको नेतृत्वमा वैज्ञानिक समाजवादी सत्ता अघि बढिरहेको बताउँदै क्रान्तिकारीहरुप्रति गरिने सरकारी दमनले क्रान्तिको विजयलाई नजिक ल्याइपुर्याउने पुर्याउने बताएका छन् । स्टाटसमा भनिएको छ, ‘सामाजिक फाँसिवादी दलाल खपु (खड्क ओली र पुष्पकमल दाहाल) सरकारले हाम्रो पार्टीका महासचिव कमरेड बिप्लवको नाममा कथित ज्यान मार्ने उद्योग र बिस्फोटक पदार्थको मुद्दामा वारेन्ट जारी गरेछ । पूर्वराजा ज्ञानेन्द्रको निरंकुश फाँसिवादले राजतन्त्रको पतन गराए जस्तै दलाल केपी वलिको सामाजिक फाँसिवादले दलाल पुजिवादलाई पतन गराउनेछ र त्यसको ठाउँमा बैज्ञानिक समाजवाद स्थापना हुनेछ ।’
नेकपाले अघि सारेको वैज्ञानिक समाजवादी सत्ता स्थापना हुनबाट कसैले रोक्न नसक्ने उल्लेख गर्दै लेखिएको छ ‘अब यो देशमा एकातर्फ कमरेड बिप्लवको कुशल नेतृत्वमा वैज्ञानिक समाजवादी सत्ताको अभ्यास अगाडि बढेको छ भने अर्कोतर्फ साम्राज्यवादीका दलालहरुको नेतृत्वमा संसदीय दलाल पुजीवादी सत्ताको अभ्यास अगाडि बढेको छ । निकट भविष्यमा नै दलाल पुँजीवादी सत्ताको पतन र बैज्ञानिक समाजवादी सत्ताको बिजय सुनिश्चित भैसकेको छ । अब जसरी दलाल सत्ताले हाम्रो महासचिवको घरमा वारेन्ट टाँस गरेको छ त्यसको बदला जनसत्ताले पनि दलालहरु र तिनका नाईकेहरुको घरमा पनि पक्राउ पुर्जी जारी गर्नेछ ।’
केपी ओली नेतृत्वको सरकारले गठन भएदेखि नै नेकपाका नेता कार्यकर्तामाथि धरपकड र झुठा अभियोग लगाउने क्रम जारी छ । बुधबार मात्रै सुर्खेतमा तीन जना विद्यार्थी नेताहरुलाई प्रहरीले गिरफ्तार गरेको छ ।
नेकपाका शान्तिपूर्ण राजनीतिक गतिविधिमाथि निगरानी गर्नुका साथै बिथोल्दै आइरहेको छ । सरकारले अपनाएको यसखाले रवैयाले राजनीतिक स्वतन्त्रमाथि ठाडो हस्तक्षेप भएको भन्दै अधिकारकर्मी र मानवअधिकारवादीले विरोध गर्दै आइरहेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]