मेलम्ची खानेपानी आयोजनाको काम ठप्प
काठमाडौं, २० फागुन । मेलम्ची खानेपानी आयोजनाको निर्माण कार्य ठप्प भएको छ । आयोजनाका कामदारले चार महिनादेखि तलब नपाएपछि काम ठप्प पारेका हुन् । कम्पनीले पटक पटक सूचना टाँस गरेर कामदारको तलब दिने आश्वासन दिएपनि तलब भने नपाएको भन्दै केही कामदारले बिहिबारदेखि नै काम छोडेर हिँडेका छन् भने बाँकीले शनिबारबाट सबै काम रोकेका हुन् । ‘मंसिर महिनादेखिको तबल पाएको छैन,’ नाम नखुलाउने शर्तमा एक कामदारले भने, ‘काम नरोकी तलब पाएको इतिहास नभएकै कारण काम रोकेका हौं ।’ उनका अनुसार कम्पनीले यसअघि पनि पटक पटक लामो समय तलब नदिने र काम रोकेपछि मात्रै तलब दिने गरेको बताए ।
आयोजनमा कम्तिमा अठार हजारदेखि बढिमा दुईलाखसम्म तलब खाने कामदार छन् । ती कामदारले मंसिर महिनादेखि तलब नपाएको बताएका छन् । ‘तीन पटकसम्म सूचना टाँसेर तलब दिने भनियो’, सो आयोजनमा काम गरिरहेका र तीन महिना अघिदेखिको तलब र अन्य सेवा सुविधा नपाएर काम छोडेका एक कामदारले नाम नख्ुलाउने सर्तमा भने, ‘सूचना टाँसेर पैसा दिने आश्वासनमात्र दिईयो । पैसा दिईएन ।’ आयोजनाको काम भईरहेको सुन्दरीजल साईट, सिन्धु अडिट साईट, ग्याल्थुम साईट र अंम्बाथान साईट गरि चार स्थानका करीब ६ सय कामदारहरुले तलब नपाएपछि आयोजनाको सम्पूर्ण काम बन्द गरेका हुन् । उनिहरुले आफूले पाउनपर्ने सबै तलब र सेवा सुविधा नपाएसम्म काममा नफर्कने समेत जनाएका छन् ।