प्रकाण्डद्वारा दुख व्यक्त – राज्यकाे अवैज्ञानिक नीतिले गर्दा विमान दुर्घटना

२०७४ फाल्गुन ३० गते, बुधबार

काठमाडौँ , ३० फागुन । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले राज्यकाे वैज्ञानिक र व्यवहारिक नीति नहुनुकाे कारणले नेपालमा पटक पटक ठूला विमान दुर्घटनाहरू भएकाे बताउदै हालै भएको बंगलादेशी विमान दुर्घटनाको मुख्य दोषि संसदीय व्यवस्था भएको ठोकुवा गरेका छन् । उनले दुर्घटना हुनुको कारण प्राविधिक भन्दै संसदीय सत्तालाई चोख्याउने काम गरिँदै आएको भएपनि त्यसमा कुनै सत्यता नभएको दाबी गरेका छन् । प्रवक्ता प्रकाण्डले राज्य प्रणाली ठीक नभएपछि उसले बनाएका संरचनाहरु पनि व्यवस्थित नहुने बताए । वैज्ञानिक समाजवादी व्यवस्थामा मात्रै सबै संरचना व्यवस्थित हुने भन्दै प्रबक्त प्रकाण्डले त्यसको लागि आफ्नो पार्टीले संघर्ष गरिरहेको बताएका छन् । उनले मृतकप्रति श्रद्धाञ्‍जली, परिवारमा समवेदन व्यक्त गर्दै घाइतेका स्वास्थ्यलाभको कामना समेत गरेका छन् ।
यस बिषयमा प्रवक्ता प्रकाण्डद्वारा जारी विज्ञप्ति यस्तो छ – “यही फागुन २८ गतेका दिन बंगलादेशबाट नेपालका लागि उडेको युएस बंगला २११ को विमान अन्तर्राष्ट्रिय विमान स्थलमा अवतरणका क्रममा दुर्घटना ग्रस्त हुँदा वरिष्ठ न्युरो सर्जन डाक्टर बालकृष्ण थापालगायत २२ जना नेपालीसहित ४९ जना यात्रुको मृत्यु हुनाका साथै, २२ जना गम्भीर घाइते हुन पुग्नुभएको छ । यस दुःखद् घटनामा निधन हुनुभएका सबैप्रति हाम्रो पार्टी हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछ । परिवारजनमा संवेदना व्यक्त गर्दछ । साथै, सबै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ । घाइतेहरूको शीघ्र र उपयुक्त उपचारको व्यवस्था गर्न सरकारसँग जोडदार माग गर्दछ ।
नेपालमा हवाई दुर्घटना भइराखेको छ । यसरी दुर्घटना हुनुको मुख्य कारण, प्राविधिक भन्दै गरेर यो संसदीय सत्तालाई चोख्याउने काम गरिँदै आइएको छ । यसमा कुनै सत्यता रहेको छैन । यसरी नेपालमा हुने हवाई, सडक दुर्घटनाको मुख्य जिम्मेवार यो दलाल संसदीय राज्य प्रणाली हो । राज्य वैज्ञानिक र व्यावहारिक नभएका कारण यस्ता दुर्घटना हुने गर्दछन् । राज्य प्रणाली ठीक नभएपछि उसले बनाएका संरचनाहरू पनि व्यवस्थित हुँदैनन् ।
त्यसैले हाम्रो पार्टीले यो राज्यव्यवस्थालाई पूर्णरूपले ध्वस्त गरी वैज्ञानिक समाजवादी नीतिमा आधारित राज्यप्रणालीको स्थापनाका लागि निरन्तर संघर्ष गर्दै आएको छ । यसरी वैज्ञानिक समाजवादी नीतिमा आधारित राज्यप्रणालीको स्थापनाको संघर्षलाई सहयोग, समर्थन र सहभागिताका लागि अनुरोध र अपील गर्दै आएको छ । ”

प्रतिक्रियाहरु

[anycomment]