रोल्पामा जनसत्ताको दबाब : महराको ज्वाइलाई नगर प्रमुखबाट राजीनामा दिन आग्रह

काठमाडौँ, ५ चैत । नेपाल कम्युनिस्ट पार्टीं जिल्ला जनपरिषद् रोल्पाले प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराको ज्वाई एवं रोल्पा नगरपालिकाको प्रमुख पूर्ण केसीलाई आफ्नो पदबाट राजीनामा दिन दबाब दिएको छ । केसीको कार्यकक्षमै पुगेर एउटा सानो घर लुट्नेलाई कारागार र सिंगो राष्ट्र लुट्नेलाई सिंहदरबारको शासक बनाउने यो सत्ताले शहीद तथा बेपत्ताको सपना, उनीहरुको परिवारको आँसुको क्षतिपूर्ति गर्न नसक्ने भन्दै जनपरिषद् रोल्पाले राजीनामा माग गरेको हो । अहंकार, अराजकता, छलकपट, अन्याय, बेथिति, अपारदर्शी एवं अन्योलता सिर्जना गर्ने तपाईंको शासनको आयु लामो हुँदैन” पत्रमा उल्लेख छ -`जनता अभाव खप्न सक्छन्, अपमान सहन सक्दैनन् त्यसैले अपमानबाट निष्केको आक्रोश भयानक हुनसक्छ । त्यसबेला पश्चाताप गरेर बस्नुबाहेक कुनै उपाय बाँकी रहने छैन ।` गाउँगाउँमा मन्त्री, सांसद भएर जनताबाट चर्को कर असुल गरेकोमा पत्रमार्फत कडा आक्रोश व्यक्त गर्दै दलाल र भ्रष्टहरुलाई रिझाउने र जनतालाई कज्याउने दु:स्वप्न त्यागेर राष्ट्र र जनताको हितमा काम गरेर मात्रै जनताका साथी ठहरिन अपील गरिएको छ ।
वैज्ञानिक समाजवादको आधार तयार भएको दावी गर्दै जनपरिषद् रोल्पाले चाँडै राजीनामा गरेर जनताको सरकारलाई सहयोग गर्न आग्रह गर्नुका साथै उक्त आग्रहलाई बेवास्ता गरे सम्पूर्ण परिस्थितिको जिम्मेवार हुनुपर्ने चेतावनीसमेत दिएको छ ।