प्रचण्डको घरमा जनअदालतको पुर्जी टाँस

काठमाडौं, १४ चैत । नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय जनअदालतले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका नाममा जनअदालतमा मुद्दा परेको जानकारी गराउँदै १५ दिने ‘वारेन्ट’ जारी गरेको भोलि पल्ट आज प्रचण्डको चितवनस्थित शिवनगरको पुरानो घर, लायन्स चोक र हाकिम चोकमा रहेको सम्पर्क कार्यालयमा पुर्जी टाँस भएको छ । सम्पर्क कार्यालयमा रहेको उक्त घरमा प्रचण्ड चितवन आउँदा बस्दै आएका छन् । बुधबार विहानै एकै समयमा तीनै ठाउँमा टाँसिएको स्थानीयले बताएका छन् । प्रचण्डले शान्तिप्रक्रियामा आएपछि क्रान्तिप्रति विश्वाघात गरेको, हतियार बुझाएको, जनयुक्ति सेना विघठन गरेको, माथिल्लो कर्णाली, अरुण तेस्रो जनविद्युत आयोजन भारतलाई दिने कार्यमा संलग्न भएको वारेन्टमा उल्लेख छ । त्यसैगरी नेकपाको नेता–कार्यकर्तामाथि धरपकड, गिरफ्तार र झुटा मुद्दा लगाउने कार्यमा संलग्न भएको भन्दै मंगलबार जनअदालतले वारेन्ट जारी गरेको थियो । जनअदालतमा परेको मुद्दामाथि अनुसन्धान भइरहेकोले आफै १५ दिनभित्र आफै उस्थित हुन भन्दै मंगलबार वारेन्ट जारी गरिएको थियो ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डविरुद्ध जारी भएको वारेन्ट यस्तो छ-
मुक्तिराम दाहालको छोरा चितवन जिल्ला भरतपुर नगरपालिका वडा १४ शिव नगर स्थायी ठेगाना भई हाल ललितपुर जिल्ला खुमलटार बस्ने तपाईँ पुष्पकमल दाहाल ‘प्रचण्ड’ का विरुद्धमा केन्द्रीय जनअदालत, रोल्पामा निम्न उल्लेखित मुद्दाहरु परेको हुँदा सो सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको र तपाईँसमेतलाई बुझ्नु पर्ने भएकोले यो सूचना प्राप्त गरेो वा सार्वजनिक स्थानमा टाँस भएको मितिले १५ दिनभित्र केन्द्रीय जनअदालत रोल्पामा उपस्थित हुनका लागि सुचित गरिन्छ । तोकिएको समयमा उपस्थिति नभएमा केन्द्रीय जनपरिषद् नेपालको नीति अनुसार हुने कुराको जानकारी समेत गराइन्छ ।
तपशील
१. महान् जनयुद्धको शान्तिप्रक्रियामा आएपछि क्रान्तिप्रति विश्वासघात गरेका, हतियार दुश्मनलाई बुझाएको र जनमुक्ति सेनालाई विघठन गरेको ।
२. माथिल्लो कर्णाली विद्युत आयोजना, अरुण तेस्रो लगायत विभिन्न सम्झौता भारतीय कम्पनीहरुसँग गर्ने गराउने कार्यमा संलग्न रही र राष्ट्रहित विरुद्ध कार्य गरेको हो ।
३.कथित स्थानीय निकायको चुनावमा कालिकोट जिल्लाको माल्कोटमा स्थानीय धनपरुप बटाला र कैलालीका चन्द्रबहादुर सिंह ‘सनसाइज’ समेतको हत्यामा गोली चलाउन आदेश दिनु भन्ने निर्देशन गरेको ।
४. २०७४ चैत्र ५ गते नेकपाका कोशी ब्यूरो इन्चार्ज किरण राईलगायत थ्रुपै नेताहरुर्ला बिना कारण गरिफ्तार गरी थुनामा राखेको ।
त्यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध पनि वारेन्ट जारी भएको छ । सोही प्रकृतिको १५ दिने वारेन्टमा नेकपाका कार्यकर्ता गिरफ्तार गर्न आदेश दिएकोबारे जनअदालतमा मुद्दा परेको भन्दै आफै उपस्थित हुन भनिएको छ । नेकपाको युवा संगठनको राष्ट्रिय सम्मेलनमाथि हस्तक्षेप गरिएको र केही पहिला धनकुटाबाट नेता–कार्यकर्ता गिरफ्तार गर्नुको साथै धरपकड गरेकोबारे बुझ्नु पर्ने भन्दै प्रधानमन्त्रीलाई उपस्थित हुन भनिएको छ ।