पत्रकार सम्मेलनस्थलबाटै गिरफ्तार !

काठमाडौं, १४ चैत । नेपाल कम्युनिष्ट पार्टी नुवाकोट जनपरिषद प्रमुख बिन्तोष सिलवाल ‘अशोक’ लाई प्रहरीले गिरफ्तार गरेको छ । बुधबार पत्रकार सम्मेलनस्थलबाटै प्रहरीले सिलवाललाई गिरफ्तार गरेको हो ।
नुवाकोटको विदुर नगरपालिका–२ बट्टारमा पार्टीको धारणा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलन स्थलबाट नै प्रमुख आशोकलाई प्रहरीले अपहरणकारी शैलीमा घेराबन्दी हालेर नियन्त्रणमा गिरफ्तार गरेको नेकपा नुवाकोटले बताएको छ । ताम्सालिङ्ग स्वायत्त प्रदेशको आयोजनमा पत्रकार सम्मेलनमै पुगेर प्रहरीले सिलवाललाई घेरा हालेर गिरफ्तार गरेको बताइएको छ ।
नुवाकोट प्रहरी प्रमुख एसपी बसन्त कुँवरले सिलवाललाई गिरफ्तार गरेको स्वीकार गरेका छन् । उनले मौखिक उजुरीका अाधारमा गिरफ्तार गरिएको बताए । कुँवरले नेकपाले मेयर-उपमेयर र गाउँपालिका प्रमुखहरूको राजीनामा मागेको मौखिक र केहि समय अगाडि एनसेल टावरमाथि आक्रमणमा संलग्न भएको अारोपमा प्रमुख सिलवाललाई गिरफ्तार गरिएको प्रहरीले बताएको छ ।