वायु प्रदूषणले सिमा नाघ्यो
काठमाडौं, १६ चैत । काठमाडौं उपत्यकाको विकास निर्माण लथालिंग हुँदा वायु प्रदूषणले सिमा नाघेको छ। प्रदूषणका कारण सर्वसाधारणको स्वास्थ्यमा गम्भीर नकारात्मक असर पुर्याउने खतरा चुलिएको विज्ञहरुले बताएका छन् । काठमाडौं विश्वको प्रदूषित सहरहरुमध्ये तेस्रो स्थानमा पर्दछ । करिब ५० लाख मान्छे बस्ने देशको राजधानी काठमाडौं उपत्यकाभित्र दैनिक १० लाखको संख्यामा सवारी–साधनहरु ओहोर–दोहोर गर्दछन् ।
उपत्यकामा ३८ प्रतिशत वायु प्रदूषण गाडीहरुको धुवाँले र २५ प्रतिशत सडकको धूलोले हुने गरेको एक अध्ययनले देखाएको छ । उपत्यकाको हावामा २.५ माइक्रोनभन्दा मसिना धूलोका कणको मात्रा विश्व स्वास्थय संगठनको मापदन्डभन्दा ५ गुणा बढी पाइएको छ ।
पछिल्लो समयमा काठमाडौंको हावामा २.५ माइक्रोनभन्दा साना धूलोका कण बढ्दै गएको छ । ती कणमा क्यान्सर, मस्तिष्कघात र हृदयाघात गराउने रसायन रहेको र ती कण श्वासप्रश्वासको बाटो हुँदै सीधै फोक्सोमा पुग्छन् । फोक्सो हुँदै रगतमा प्रवेश गर्छन् र रक्तसन्चार प्रणालीमार्फत् मुटुमा पुगेर जम्मा हुन्छन् । रगतमार्फत् नै मस्तिष्कमा जम्मा भएर मस्तिष्कघात पनि हुने गरेको छ ।