असिना–पानीले करोडौं मूल्य बराबरको बालीनाली नस्ट
काठमाडौँ, १६ चैत । आज परेको असिना–पानीले करोडौं मूल्य बराबरको बालीनाली नस्ट भएको छ । रौतहटको दक्षिणी भेगमा असिना–पानीबाट किसानले लगाएका हाइब्रिड मकै, मुसुरो, गहुँ, आँपलगायत विभिन्न तरकारी बालीमा क्षति पुर्याएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । क्षतिको यकिन तथ्यांक आउन नसकेपनि करोडौं रुपैयाँको क्षति भएको अनुमान कार्यालयको छ । यो वर्ष आँपको उत्पादन वृद्धि हुने अपेक्षा गरिएकामा असिनाले ठूलो क्षति पुर्याएको छ । असिनाले भर्खर फुलेका आँपको फूल झारेको हो । उता, इँटा उद्योगीसमेत असिना–पानीले पीडित बनेका छन् । इँटा बनाउन तयार पारेको काँचो इँटामा क्षति पुगेको उनीहरुले बताएका छन् । गत साउन २८ गतेकोे बाढीबाट पीडित बनेका रौतहटवासी असिना–पानीबाट थप पीडित बनेका छन् । शुक्रबार १० वर्षयताकै सबैभन्दा ठूलो असिना–पानी परेको कार्यालयले जनाएको छ ।