कुखुरामा शंकास्पद रोग

२०७४ चैत्र २३ गते, शुक्रबार

काठमाडौं, २३ चैत । शंकास्पद रोगका कारण चितवनको रत्ननगर नगरपालिका–१५ माधवपुरको लामिछाने पोल्ट्री फार्मका तीन हजार ५०० लेयर्स कुखुरा मरेका छन् । करीब एक हप्ताको अन्तरालमा यसरी कुखुरा मरेका हुन् । यही चैत १५ गतेदेखि कुखुरा मर्न थालेको फर्मका सञ्चालक द्रोणप्रसाद लामिछानेले जानकारी दिए । कुन रोग लागेको भन्ने पहिचान भने भएको छैन । ‘एक्कासि कुखुरा झोक्राउने र मर्ने भयो,’ लामिछानेले भने, ‘ल्याबमा चैत १६ गते र २० गते नमूना पठाए पनि अहिलेसम्म केही जानकारी आएको छैन ।’
उनका अनुसार फार्ममा बाँकी रहेका एक हजार ६०० कुखुरासमेत मर्ने अवस्थामा पुगेका छन् । सो जानकारी आएपछि बिहीबार जिल्ला पशुसेवा कार्यालय, चितवनले फार्मको स्थलगत निरीक्षण गरेको छ । पशुसेवा कार्यालयका पशु चिकित्सक डा विकास श्रेष्ठले कुखुराको मृत्युदर धेरै रहेको जानकारी दिँदै परीक्षणको रिपोर्ट नआएसम्म यसै भन्न नसकिने बताए ।
चैत २० गते भरतपुरस्थित पक्षीरोग अन्वेषण प्रयोगशालाबाट नमूना थप परीक्षणका लागि काठमाडौँ पठाइएको श्रेष्ठ बताउँछन् । उनले बर्डफ्लूसँग मिल्ने लक्षण भने नदेखिएको दाबी गर्दै कुन रोग भनेर यसै भन्न नसकिने बताए । अण्डा दिन थालेको तीन महिना नहुँदै अचानक रोग लागेर कुखुरा मरेपछि अहिलेसम्म रु ४० लाखभन्दा बढी क्षति भइसकेको जनाइएको छ । शुरुमै पशुसेवा कार्यालयलाई जानकारी दिँदा चासो नदिएको आरोप कुखुरापालक किसानको छ ।-रासस

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु