सचिवहरुको सरुवा
काठमाडौँ, २३ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणमा जानुअघि मन्त्रालयका सचिवहरुको सरुवा गरेका छन् । प्रधानमन्त्री कार्यालयमा रहेका सचिव प्रेमकुमार राई गृहसचिव बनाइएको छ । गृह मन्त्रालयमा रहेका सचिव मोहनकृष्ण सापकोटालाई युवा तथा खेलकुद मन्त्रालयमा सरुवा गरिएको छ । प्रधानमन्त्री कार्यालयमा रहेका अर्का सचिव खगराज बराललाई शिक्षा सचिव बनाइएको छ । महेन्द्रमान गुरुङलाई सञ्चार सचिव बनाइएको छ । गुरुङ पनि यसअघि प्रधानमन्त्री कार्यालयमै रहेका थिए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रहेका सचिव राजन खनाललाई अर्थसचिव बनाइएको छ । अख्तियार सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव महेश्वर न्यौपानेलाई बनाइएको छ ।
राष्ट्रिय योजना आयोगका विष्णु लम्साल रक्षा सचिव बनेका छन् भने प्रधानमन्त्री कार्यालयका सचिव शरच्चन्द्र पौडेल योजना आयोगमा पुगेका छन् । मधुसुदन अधिकारीलाई भौतिक पूर्वाधार मन्त्रालयको सचिव बनाइएको छ । अधिकारी यसअघि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा थिए ।
युवा तथा खेलकुद मन्त्रालयका सचिव महेशप्रसाद दाहाललाई श्रम तथा रोजगार मन्त्रालयको सचिव बनाइएको छ । नेपाल ट्रष्ट कार्यालयमा कार्यरत अर्जुनकुमार कार्कीलाई पुनिर्निर्माण प्राधिकरणको सचिव बनाइएको छ । वनसचिव डा. युवकध्वज जीसीलाई कृषि मन्त्रालयको सचिव बनाइएको छ भने पशुपंक्षी सचिव विश्वनाथ ओलीलाई वन मन्त्रालयमा सरुवा गरिएको छ ।
अर्थमन्त्रालयका सचिव शंकरप्रसाद अधिकारीलाई उपराष्ट्रपतिको कार्यालयमा सरुवा गरिएको छ भने शिक्षा सचिव मधुप्रसाद रेग्मीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरुवा गरिएको छ ।
प्रदेश नं.१ का कामु मुख्यसचिव यादवप्रसाद कोइराला काठमाडौं महानगरपालिकामा सरुवा भएका छन् । पर्यटन मन्त्रालय, कानून मन्त्रालय र सामान्य प्रशासन मन्त्रालय लगायतका सचिवहरु यथावत छन् । सूचना तथा सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाले सबै सचिवहरुको सरुवा गर्ने नीति अनुरुप सरुवा गरिएको बताए । ३० जना सचिवहरुको अदल-बदल भएको छ । एकै पटक सबै सचिवहरुको सरुवा गर्ने सरकारको नीति अन्र्तगत अदल–बदल गरिएको बताइएको छ ।