काठमाडौँको फोहर विसर्जनमा अवरोध
काठमाडौं, २५ चैत । मिनीट्रकको ठक्करबाट महिलाको मृत्यु भएपछि घटनाको विरोधमा ओखरपौवाका स्थानीयवासीले जितपुर–ओखरपौवा सडकखण्डमा यातायात सञ्चालनमा अवरोध पुर्याएका छन् । पीडितलाई क्षतिपूर्ति र दोषी चालकलाई कारबाहीको माग गर्दै गाडी सञ्चालन बन्द गराएपछि उपत्यकाको फोहर विसर्जन गरिँदै आएको ओखरपौवासम्म गाडी आउन बन्द भएको छ । गएराति बा५ख २५२३ नम्बरको मिनीट्रकले ककनी गाउँपालिका–१ महालक्ष्मी भन्ने स्थानमा स्थानीय ३० वर्षीया सीता बलामीलाई ठक्कर दिँदा घटनास्थलमा नै उनको मृत्यु भएको थियो । सोही घटनाको विरोधमा त्यस क्षेत्रका बासिन्दाले आज बिहानैदेखि प्रदर्शन गर्दै गाडी सञ्चालन बन्द गराएपछि फोहर बोकेर काठमाडौंबाट आएका गाडी जितपुरमा नै रोकिएको जिल्ला प्रहरी प्रमुख वसन्त कुँवरले जानकारी दिए ।
सडक अवरुद्ध हुँदा फोहर बोकेका करीव १०० गाडी रोकिएका छन् । चालकले लापरबाहीरुपमा गाडी चलाएर दुर्घटना गराएको र त्यसलगत्तै फरार भएको भन्दै स्थानीयले उक्त मिनीट्रकमा तोडफोड गरी क्षति पुर्याइदिएका छन् । शव परीक्षणका लागि आज बिहान शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको र अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । तनावपूर्ण रहेको उक्त क्षेत्रमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक र काठमाडौंबाट प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी परिचालन भएका छन् । -रासस