‘ओलीले जनतालाई भ्रमित तुल्याए’
काठमाडौं, १५ बैशाख । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य‘किरण’ले सीमा मिचिदा मुकदर्शक बन्ने र सारा नदीनाला विदेशीलाई सुम्पनेहरु कदापि राष्ट्रवादी हुन नसक्ने ठोकुवा गरेका छन । पार्टीको युवा संगठन क्रान्तिकारी युवा लिगको ३ नं. प्रदेशले शुक्रबार काठमाडौंमा आयोजना गरेको वृहत् जागरण तथा युवा मार्चपासलाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेका हुन् । आफ्नो सामथ्र्यभन्दा बाहिर गएर जे मनलाग्यो त्यही बोलेर प्रम ओलीले जनतालाई भ्रमित तुल्याएको भन्दै महासचिव किरणले भने , “आफ्नो सामथ्र्यभन्दा बाहिर गएर ओली जी जे मन लाग्यो त्यही बोलिरहनु भएको छ । बोल्ने ठाउँमा उहाँ बोल्दै बोल्नुहुन्न । भारतीय विस्तारवादबाट दिनदिनै सीमा अतिक्रमण भइरहेको छ, खोई त्यसमा ओली जी बोलेको ? असमान सन्धि सम्झौता खारेज गर्नुपर्छ भनेर खोई बोलेको ? आफूलाई राष्ट्रवादी भन्ने अनि सारा नदीनाला विदेशीलाई सुम्पने ? अनि विकास र समृद्धिको नारा फलाकेर जनतालाई भ्रमित तुल्याउने ?” ओली सरकारबाट विकास र समृद्धिको अपेक्षा राख्नु जनताको मुर्खता हुने पनि महासचिव किरणले बताए ।
ओली नेतृत्वको सरकारलाई वामपन्थी र कम्युनिष्ट सरकार भनेर ठूलो भ्रम छरिएको भन्दै महासचिव किरणले ‘सारतत्वमा यो सरकार वामपन्थी, कम्युनिष्टको सरकार होइन । प्रतिक्रियावादी वर्ग अर्थात् सामन्त, दलाल तथा नोकरशाही पुँजीपतिवर्गको रक्षाकवच हो ।’ किरणले भने ।
महासचिव किरणले संसदीय व्यवस्थाका विरुद्ध भएको झापा विद्रोह र दशवर्षे महान जनयुद्धमाथि गम्भीर विश्वासघात गरी त्यही पुरानो सडेगलेको संसदीय व्यवस्था पुनजीर्वित गराउन र त्यसैलाई संस्थागत गर्न नेतृत्वदायी भूमिका खेलेकोले एमाले र माकेलाई झापा विद्रोह र जनयुद्धको बारेमा बोल्ने कुनै अधिकार नभएको दावी गरे । उनले भने , “एमालेले झापा विद्रोहमाथि र माकेले महान जनयुद्धमाथि गम्भीर विश्वासघात ग¥यो । अब एमालेलाई झापा विद्रोह र माकेलाई महान जनयुद्धको बारेमा कुरा गर्ने कुनै अधिकार छैन । झापा विद्रोह र महान जनयुद्धका सच्चा उत्तराधिकारी हामी हौं । अब ००७ सालदेखि थाँती रहेको नयाँ जनवादी क्रान्तिको झण्डा हामी उठाउँछौं ।” अहिले देश र जनताले यो सडेगलेको संसदीय व्यवस्थाको विकल्प खोजेको छ भन्दै महासचिव किरणले राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विकराल समस्याहरुको समाधानका निम्ति नयाँ जनवादी क्रान्ति अपरिहार्य रहेको बताए ।
वैचारिक, राजनीतिक, सांगठानिक र प्राविधिक तयारीका साथ नयाँ जनवादी क्रान्तिको प्रक्रिया अगाडि बढाउन क्रान्तिकारी युवाहरु अगाडि बढ्नुपर्ने आवश्यकता औल्याउँदै महासचिव किरणले ‘युवाहरुले कार्लमाक्र्सले भनेझै व्यक्तिगत सुखसुविधा त्यागेर देश र जनता तथा समाज रुपान्तरणका निम्ति गौरवपूर्ण जीवन रोज्नुपर्दछ र आवश्यक परे देश र जनताको निम्ति महान बलिदान दिन सक्ने त्यो महान बाटो हिड्न तयार हुनुपर्दछ’ भने ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका केन्द्रीय अध्यक्ष सीपी गजुरेलले ‘हामीले रगत बगाएर ल्याएको गणतन्त्रमा सडक आन्दोलन गर्न हामीलाई नै प्रतिबन्ध लगाउने ?’ भनेर ओली सरकारलाई प्रश्न गरेका थिए । उनले सुरक्षाको नाममा ओली नेतृत्वको सरकारले विरोध, धर्ना, जुलुस गर्न प्रतिबन्ध लगाएको प्रति कडा विरोध गर्दै सडक आन्दोलन हाम्रो अधिकार हो भन्दै फासिवादी सरकारको विरोध र भण्डाफोर गर्ने बताए । उनले भने , “खबरदार ! सडक जनताको हो, विरोध गर्न पाउनु जनताको अधिकार हो । हामी सडक संघर्ष गर्छौं र यो फासिवादी सरकारका हरेक कर्तुतको सडकबाट विरोध र भण्डाफोर गर्छौं । सडक आन्दोलन हाम्रो अधिकार हो । यो कदापि खोस्न दिंदैनौं ।” दलाल, नोकरशाही पुँजीपतिवर्गको सरकारले युवाहरुलाई विदेशमा बेचेर उनीहरुकै पसिनाले देश चलाइरहेको भन्दै उनले अब युवाहरुलाई विदेशमा बेच्ने कम्पनीहरु खारेज गरिनुपर्ने बताए । सबै युवाहरुलाई स्वदेशमै सरकारले रोजगारीको व्यवस्था गर्नुपर्ने , रोजगारी नदिए बेरोजगारी भक्त दिनुपर्ने उनको भनाइ थियो । चुनावमा पराजित भएपछि कांग्रेसी युवाहरु नुन खाएको कुखुरा जस्ता भएका र माकेका युवाहरु एमालेसँग आत्मसमर्पण गर्न नपाएर रोइरहेको चर्चा गर्दै नेता गजुरेलले क्रान्तिकारी युवा लिग ती सबै आत्मसमर्पणकारी, अवसरवादी प्रवृत्तिका विरुद्ध राजनीति र व्यवस्थाबाट निराश र पलायनभएका युवाहरुमा वृहत् जागरण ल्याउँदै र उनीहरुलाई संगठित गर्दै क्रान्तिको तयारीमा अगाडि बढिसकेको दावी गरे ।
सोहि कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी स्थायी समिति सदस्य रामसिंह श्रीसले नयाँ जनवादी क्रान्तिको युगीन जिम्मेवारी युवाहरुको काँधमा आएको भन्दै क्रान्तिकारी युवाहरु विवेक र साहसका साथ अगाडि बढ्नुपर्ने विचार राख्नुभयो । युवाहरुको मार्चपासले प्रतिक्रियावादी र अवसरवादीहरुलाई ठूलो खबरदारी गरेको भन्दै नेता श्रीसले विश्वभर छरिएर रहेका युवाहरुलाई नयाँ जनवादी क्रान्तिमा गोलबन्द गरेर लैजानुपर्ने धारणा राखेका थिए ।
कार्यक्रममा क्रान्तिकारी युवा लिग, नेपालका अध्यक्ष अमीर महर्जन‘आकाश’ले एक करोड युवा विदेशमा रहेको भन्दै देशलाई घरेलु र वैदेशिक प्रतिक्रियावादी वर्गबाट मुक्त गरी गरिखाने श्रमजीवी जनताको देशमा बदल्नका निम्ति देश विदेशमा रहेका सबै नेपाली युवाहरुले नयाँ जनवादी क्रान्तिको झण्डा उचाल्ने बेला आएको बताए । उनले युवाहरुलाई विदेशमा होइन स्वदेशमा नै आफ्नो भविष्य खोज्न आव्हान गर्दै राष्ट्रियता, जनतन्त्र र जनजीवीकाका समस्याहरुको समाधान गर्ने गम्भीर अभिभारा युवाहरुको काँधमा आएको बताएका थिए ।