५० लाख नेपाली मानसिक रोगी
काठमाडौं, १८ वैशाख । विश्व स्वास्थ्य संगठनले विश्वमा हरेक ५ जना व्यक्तिमध्ये एक जनामा कुनै न कुनै प्रकारको मानसिक स्वास्थ्य समस्या रहेको तथ्यांक सार्वजनिक गरेको छ । मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र नेपालले आज (मंगलबार) राजधानीमा एक कार्यक्रम गरी विश्व स्वास्थ्य संगठनको तथ्यांक सार्वजनिक गरेको हो ।संगठनले विश्वमा ३० करोडभन्दा बढीलाई मानसिक रोग लागेको जनाएको छ । नेपालमा करिब ५० देखि ५५ लाख व्यक्ति कुनै न कुनै मानसिक समस्याबाट पीडित रहेको तथ्यांकले देखाएको छ ।
मानसिक समस्याकै कारण मानिसले आत्महत्या गर्ने गरेकोसमेत बताइएको छ । नेपाल प्रहरीको तथ्यांक अनुसार आर्थिक वर्ष २०७३ र ७४ मा ५ हजार १२५ जनाले मानसिक तनावका कारण आत्महत्या गरेका छन् । कार्यक्रममा वरिष्ठ मनोचिकित्सक डा. कपिलदेव उपाध्यायले द्वन्द्व, बेरोजगारी, गरिवी, घरेलु तथा लैंगिक हिंसा, सामाजिक विभेद, प्राकृतिक विपत्ति जस्ता कारणले नेपालमा मानसिक स्वास्थ्यसम्बन्धी समस्या बढेको बताए । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका मानसिक रोग विभाग प्रमुख डा.सरोजप्रसाद ओझाले मानसिक रोगीको संख्या दिन दिनै बढ्दै गएको बताए । ६० प्रतिशत महिलालाई आफ्नै श्रीमानले परामर्श गरेर निको पार्न सक्ने उनको भनाई थियो ।