सैन्य शीर्षकमा १७०० अर्ब डलर खर्च !
काठमाडौं, २१ बैशाख । सन् २०१७ मा विश्वभरका मुलुकले सैन्य शीर्षकमा १७ सय अर्ब डलर खर्चिएको तथ्यांक सार्वजनिक भएको छ । संसारभरका देशले गरेको सैन्य खर्चमाथि अनुसन्धान गर्ने स्टकहोम इन्टरनेशनल पीस रिसर्च इन्ष्टिच्यूट (सिप्री)को प्रतिवेदन अनुसार अमेरिका एक्लैले सैन्य क्षेत्रमा ६१० अर्ब डलर खर्चिएको छ । त्यस्तै रुसले अघिल्लो वर्षभन्दा २० प्रतिशत कम अर्थात ६६ अर्ब ३० करोड डलर खर्च गर्दा चीनले २ सय २८ अर्ब डलर खर्चिएको छ ।
सामान्यतया, विश्वको बलिया आर्थिक शक्ति मानिएका मुलुकहरुले सेना तथा रक्षा मामलामा अधिक रकम खर्च गर्ने गरेको मानिन्छ । तर कुल ग्राहस्थ उत्पादन (जीडीपी)को ठूलो हिस्सा सैन्य क्षेत्रमा खर्च गर्ने मुलुकको सूचीमा अमेरिका, रुस र चीनभन्दा माथि अरु नै मुलुक सूचिकृत छन् । अमेरिकाले सैन्य क्षेत्रमा सबैभन्दा बढी ६१० अर्ब डलर खर्चिदा पनि यो उसको जीडीपीको करीब ३.१ प्रतिशतमात्र हो । त्यस्तै रुसले आफ्नो जीडीपीको ४.३ प्रतिशत र चीनले १.९ प्रतिशत खर्च गरेको छ । जीडीपीको सबैभन्दा बढी रकम आफ्नो देशको सैन्य क्षेत्रमा लगाउने मुलुकमा ओमान पहिलो नम्बरमा छ । उसले करीब नौं अर्ब डलर अर्थात् जीडीपीको १२ प्रतिशत रकम सैन्य क्षेत्रमा खर्चिएको छ । त्यस्तै साउदी अबरले जीडीपीको १० प्रतिशत सैन्य क्षेत्रमा खर्च गरेको छ । गत वर्ष साउदी अरबले ६९.४१३ अर्ब डलर सैन्य क्षेत्रमा खर्च गरेको थियो । जीडीपीको आधारमा ठूलो राशी सैन्य क्षेत्रमा खर्च गर्ने मुलुकको तेस्रो नम्बरमा कंगो पर्दछ । उसले जीडीपीको ६.२ प्रतिशत हिस्सा सैन्य क्षेत्रमा खर्च गरेको छ । – एजेन्सी