बन्दमा सहयोग गर्ने सबैपक्षलाई धन्यवाद

२०७५ बैशाख ३० गते, आईतवार

काठमाडौं, ३० वैशाख । नेपाल कम्युनिस्ट पार्टीले आज आयोजना गरेको नेपालबन्द सफल बनाउने सम्पूर्ण पक्षलाई धन्यवाद दिएको छ । सो पार्टीका महासचिव विप्लवले एक प्रेस विज्ञप्ती जारी गर्दै आफ्नो पार्टीले आयोजना गरेको नेपाल बन्द जनताको प्रतिरोध र प्रतिवाद, यहाँका देशभक्त, राष्ट्रवादी, जनगणतन्त्रवादीहरुको सक्रियता, समर्थन, सहयोग र ऐक्यबद्धतामा सफल भएको उल्लेख गरेका छन् । साथै महासचिव विप्लवले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बैशाख २८ र २९ गतेको नेपाल भ्रमणका क्रममा सर्वत्र विवादित अरुण ३ को सिलन्यास गरेको, नेपाली भूमिमा भारतीय सुरक्षा फौजले ताण्डव नृत्य देखाएको, मुस्ताङको मुक्तिनाथमा पुजा अर्चना गर्ने क्रममा भारतीयहरुले गरेको क्रियाकलापका विरुद्ध बन्द आयोजना गरिएको बताएका छन् । उनले नेपालका पत्रकारमाथी भारतीय सुरक्षा फौजले गरेको हर्कत सरकारले टुलुटुलु हेरेर बसेको सत्तामा बसेका पुँजीवादीहरु सत्ता बचाउनको लागि हैसम्म लम्पसार परेको उल्लेख गरेका छन् । महासचिव विप्लवले मोदीको नेपाल भ्रमणका क्रममा भारतीय सुरक्षा फौज र नेपालका प्रशासकले देशभक्त नेपाली जनतामथि गरेको दमन र ओली सरकारले मालिक रिझाउन गरेको राष्ट्रघात र लम्पसारवादका विरुद्ध आफ्नो पार्टीले नेपालबन्दको घोषणा गरेको पनि विज्ञप्तीमा स्पष्ट पारेका छन् ।

यस बिषयमा नेपाल कम्यूनिस्ट पार्टीका महासचिव विप्लवद्वारा जारी प्रेश विज्ञप्तिको पूर्ण बिबरण यस्तो छ –

“हाम्रो पार्टीले नेपाली जनतामाथि हुँदै आएका सबै खाले शोषण, दमन र उत्पीडनका विरुद्ध शृंखलाबद्ध रुपमा आन्दोलन गर्दै आइरहेको छ । पछिल्लो क्रममा मुलरुपमा संविधान—२०७२ को घोषणा र त्यसको कार्यान्वयन भन्दै यहाँका संसदीय पार्टीहरुले आयोजना गरेको चुनाव र त्यो चुनावमा आफूलाई वामपन्थीको खोल ओडेर जनतामा भ्रम पारेर कथित वाम गठबन्धनको बहुमतको भरमा बनेको केपी ओली र प्रचण्डको संयुक्त सरकारले एकातिर जनयुद्ध र जनआन्दोलनबाट प्राप्त सीमित अधिकारहरुमाथि पनि प्रतिबन्ध लगाउँदै गएका छन् भनें अर्कोतिर आफूलाई राष्ट्रवादी भएको स्वाङ रचेको केपी र प्रचण्डले आफ्ना पुराना प्रभुलाई देशका जलस्रोत लगायतका अमूल्य र आर्थिक समृद्धिका मुख्य आधारहरु प्राकृतिक सम्पदा सुम्पि रहेका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको वैशाख २८ र २९ को नेपाल भ्रमण, भ्रमणका क्रममा सर्वत्र विवादित अरुण–३ को शिलन्यास, जनकपुरमा कथित नागरिक अभिनन्दनका नाममा भारतीय सेना र सुरक्षा फौजले गरेको ताण्डव नृत्य, मुस्ताङमा पूरा अर्चना गर्ने नाममा मोदी र उनका डफ्फाले गरेको क्रियाकलाप, राष्ट्रिय नाचघरमा गरिएको स्वघोषित अभिनन्दन र नेपालका पत्राकारमाथि भारतीय सुरक्षा फौजले गरेको हर्कतलाई निरीह प्राणी झैं टुलुटुलु हेरेर बस्ने नेपालका शासकहरुको क्रियाकलापले नेपाल र नेपाली जनताको इतिहासमा नै मानमर्दन गरेको मात्र छैन कि आफ्नो लुटको स्वर्ग बचाउन यहाँ दलाल संसदीय पुँजीवादी शक्तिहरु हदैसम्म लम्पसार पर्दा रहेछन् भन्ने कुरा पुष्टि गरेको छ ।
मोदीको नेपाल भ्रमणका क्रममा भारतीय सुरक्षा फौज, नेपालका शासक प्रशासकले देशभक्त नेपाली जनता माथि गरेको दमन र केपी ओली सरकारले मालिक रिझाउन गरेको राष्ट्रघातका विरुद्ध हाम्रो पार्टीले वैशाख ३० गते आजका दिन नेपाल बन्दको घोषणा गरेको थियो । उक्त बन्द नेपाली जनताको प्रतिरोध र प्रतिवाद, यहाँका देशभक्त, राष्ट्रवादी, जनगणतन्त्रवादीहरुको सक्रियता, समर्थन, सहयोग र ऐक्यबद्धतामा सफल भएको छ । त्यसैले यो बन्दलाई सफल पार्न सहयोग र समर्थन गर्नु हुने सबैप्रति हाम्रो पार्टी हार्दिक धन्यवाद व्यक्त गर्दछ ।
हाम्रो पार्टी अहिले नेपाली जनता र नेपाल राष्ट्रको पूर्ण मुक्ति अभियानमा छ । जबसम्म नेपालबाट दलाल पुँजीवादी संसदीय व्यवस्थाको अन्त भई समाजवाद स्थापना हुँदैन, तबसम्म निरन्तर संघर्षमा हाम्रो पार्टी रहिरहने छ । यो केपी र पीकेको कथित वाम गठबन्धन र उनीहरुले भन्दै आएको समाजवाद उन्मुख राज्य व्यवस्थाको भ्रममा नपरी यो सत्ताको समुल नष्ट गरी वैज्ञानिक समाजवाद स्थापना गर्ने अभियानमा सरिक हुन पनि आह्वान गर्दछौं । ”

प्रतिक्रियाहरु

[anycomment]