कमरेड चतुरमान – बलराम तिमल्सिना

२०७५ जेष्ठ ११ गते, शुक्रबार

लगभग सय जनाको यौटा समुह एकाविहानै कमरेड चतुरमानको निवासमा पुग्यो । त्यो समुह विधिवत यौटा वैठक नै गरेर ज्ञापन पत्र सहित पुगेको थियो ।समुहको यौटै गुनासो थियो कि त्यत्रो समयदेखि चतुरमानको एकाग्र भक्ति गर्दा समेत यो पटक चतुरमानले किन संझना गरेनन् । कोही कोही राता पिरा पनि देखिन्थे ।किञ्चित आक्रोसजस्तो पनि देखिन्थ्यो ।तर त्यो आक्रोसको सम्वन्ध कुनै नीतिगत विषयमा थिएन।वरु यौटै थियो – यत्रो जम्वो टोली बनाउँदा हामी कसरी छुट्यौं ? कमरेड चतुरमानले हतारिएको मुद्रामा भने-” कमरेडहरू हतार छ , अलि छिटो छिटो राख्नुस त ।म सजिलै बुझिहाल्छु ।” चतुरमानले डेलिगेशन गएकाहरूले के भन्न खोजेका हुन भनेर नबुझ्ने कुरै थिएन ।अनि डेलिगेट्सहरूले पनि चतुरमानले के भन्लान भनेर सामान्य पूर्वानुमान पहिलै गरेका थिए। उनीहरूलाई रिस पोखेर मन हलुका बनाउँनु थियो ।सवै प्राय गलेका र सिर ढलेका थिए। चतुरमानले ढोका थुनेर भकुरे पनि हलचल गर्ने सोच कसैको थिएन। आफेले वर्षौं भेडा बाख्राजस्तै चराउँदै आएका संझेर चतुरमान पटक्कै तनावमा थिएनन्। त्यसो त चतुरमानले अरुको चिन्ता गर्न छोडेको एक दशक नै भैसकेको थियो ।सवैका कुरा सुनिसकेपछि चतुरमानले अनुहारमा नक्कली भावुकता प्रदर्शन गर्दै भने-” कमरेडहरू , म तपाईहरूको भावना निश्चित रुपमा बुझ्छु । मैले धेरै कोसिस गरें तर संभव भएन।म त चाहन्थे तपाईहरू सवैलाई राखौं ।तर परिस्थिति अर्कै भयो। केही मानिसहरू यो एकता भाँड्न थालेको बुझियो।विदेशीले पनि राम्रै मेहनत गरेको खवर आयो। एकता नगरौं भएको पनि सवै सकिने । निहु खोज्नेहरूलाई नराखौं एकता भाँडिने भए पछि सोचें- तपाईहरूले त मलाई विश्वास गर्नु हुन्छ। तपाईहरूले जाबो केन्द्रमा नपरेकै कारणले मलाई पक्कै धोका दिनु हुन्न ।ऐले अरुलाई भाग पुर्याऊँ। यो एकता बन्यो भने आफ्ना कमरेडहरूलाई त भोलि पनि गरौंला ।यही सोचेर मैले तपाईहरूलाई समावेश गरिंन। ” एति भनिसकेपछि आफूले गरेको जालसाँचीको प्रभाव कति पर्यो होला बनेर चतुरमानले सवैको अनुहार पढे।धेरै अनुहारमा कृतज्ञताका रेखाहरू देखियो ।एकाध अझै कस्सिन खोज्दै थिए ।ल है त कमरेडहरू, अलि हतार भएकोले म हिडें भनेर चतुरमान बाहिरिए। डेलिगेशन गएको टोलीको हावा चतुरमानको गफको सुइरोले खुस्काइसकेको थियो । चतुरमानको गाडी हिडेको केही समयपछि निराशाको घना बादल ओढेर डेलिगेशन गएको टोली पनि बाहिरियो ।

प्रतिक्रियाहरु

[anycomment]