प्रचण्ड र ओलीविरूद्ध निर्वाचन आयोगमा उजुरी

२०७५ जेष्ठ १२ गते, शनिबार

काठमाडौं, १२ जेठ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेलले प्रधानमन्त्री केपी शर्मा ओली तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता गराएका छन् । बिगतदेखि नै ‘नेपाल कम्युनिस्ट पार्टी’ स्थापना गरेर नेतृत्व गर्दै आइरहेका वामपन्थी नेता ऋषिराम कट्टेलले प्रधानमन्त्री केपी शर्मा ओली तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष रहेको ‘नेपाल कम्युनिस्ट पार्टी’ का विरुद्ध उजुरी दर्ता गराएका हुन् । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकता भएलगत्तै एकीकृत पार्टीको नाम पनि ‘नेपाल कम्युष्नस्ट पार्टी’ नै राखेर सोही अनुरुप दल दर्ता गर्न ओली–प्रचण्डले निर्वाचन आयोगमा निवेदन दिएका थिए । निर्वाचन आयोगले उनीहरुको पत्र मात्रै दर्ता गरेर दल दर्ताको विषयमा अध्ययन–परामर्श जारी राखेको छ । ओली–प्रचण्ड र आयोगको यसै कार्यप्रति असन्तुष्टि जनाउँदै कट्टेले आयोगमा उजुरी–निवेदन दिएका हुन् ।
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेलले ओली–प्रचण्डविरूद्ध शुक्रबार निर्वाचन आयोगमा दर्ता गराइएको निवेदन यस्तो छ –
श्री निर्वाचन आयोग
कान्तिपथ, काठमाडौं
विषयः आवश्यक कार्बाही गर्नेबारे ।
उक्त विषयमा विगत केही दिनदेखि सत्तामा रहेका दलहरुले एकता प्रक्रिया मार्फत निर्वाचन आयोगमा नेपाल कम्युनिष्ट पार्टी नाम गरेको दल दर्ता गरेको र त्यसको अध्यक्षमा केपी वली र पुष्पकमल दाहाल रहेको भनि संचार माध्यममा प्रचार भइरहेको र स्वयं सरकारका मान्छेहरु वाट समेत यस्तो अभिव्यक्ति आइरहेको प्रति नेपाल कम्युनिष्ट पार्टी सम्मानित निर्वाचन आयोगको ध्यान यस तर्फ आकृष्ट गराउन चाहन्छु । तत्काल यसको सत्य तथ्य सार्वजनकि गर्न र यस्तो असंवैधानिक तथा गैह्रकानुनी काम गर्नेहरुलाई कानुनी कार्वाही गर्न माग गर्दछ ।
(१) नेपाल कम्युनिष्ट पार्टी निर्वाचन आयोग को मिति २०७४ । ५ । २८ च.नं. ७४।०५ रा।द।३।२।४३८ को पत्र अनुसार निर्वाचन आयोगको २०७४।५।२२ को निर्णय अनुसार नेपालको संविधानको धारा २७१ र राजनीतिक दल सम्वन्धी ऐनको दफा ४८ अनुसार निर्वाचन आयोगमा दर्ता भएको दल हो । स्मरणीय छ नेपाल कम्युनिष्ट पार्टी संविधानको धारा २६९ अनुसार पनि निर्वाचन आयोगमा दर्ता भएको छ ।
(२) राजनैतिक दल सम्वन्धिऐन २०७३ (संशोधन सहित) को दफा ६ को (ङ) मा दर्ता हुन आएको दलको नाम वा चिह्न निर्वाचन आयोगमा दर्ता रहेको दलको नाम वा चिन्ह संग मिल्ने भएमा त्यस्तो दल दर्ता हुन नसक्ने प्रष्ट कानुनी व्यवस्था छ ।
(३) यस्तो कानुनी व्यवस्था हुँदाहुँदै सरकारमै रहेका दलहरुबाट संविधान र कानुनको सोझै उलङ्घन हुनु र सम्बन्धित निकाय समेत माैन रहनुले नेपालको लोकतन्त्र र कानुनी राजको मान्यता को उलङ्घन भएको छ । समयमै यस्तो अधिनायकवादी दुस्कार्य रोकी नेपालको संविधान र नागरिककोको मौलिक हकको रक्षा गर्न आग्रह गर्दछु ।
ऋषिराम कट्टेल
अध्यक्ष
नेपाल कम्युनिष्ट पार्टी
बोधार्थः
नेपाल सरकार, राजनीतिक दलहरु र सञ्चार माध्यमहरु

प्रतिक्रियाहरु

[anycomment]