नेकपामाथि दमन गर्ने दुष्प्रयास , राष्ट्रघात र राज्य आतंकका विरुद्ध प्रदर्शन हुँदै

२०७५ जेष्ठ २६ गते, शनिबार

काठमाडौं, २६ जेठ । सरकारले नेपाल कम्युनिस्ट पार्टीमाथि धरपकड गर्ने र उसका नेता – कार्यकर्तालाइ गिरफ्तार गर्ने र झुठा मुद्दामा फसाउने कार्यलाई तिब्रता दिएको छ । माकेबाट एमालेमा बिलय भएका प्रचण्डको सल्लाहमा प्रधानमन्त्री केपी ओलीले प्रहरी प्रशासनलाई ठाडो निर्देशन दिँदै यस्तो कार्यलाई तिब्रता दिइएको स्रोतले बताएको छ । अदालतले रिहा गरिसकेका नेकपाका नेता–कार्यकर्तालाई पुनः पटक–पटक अदालतवाट बाहिरिन नपाउँदै गिरफ्तार गर्ने र पुनः अर्को झुठो मुद्दामा फसाउन खोज्ने प्रहरी प्रशासनको दुष्प्रयासले यसलाई पुस्टि गरेको स्रोतको ठोकुवा छ ।
यसैबीच, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले नेपाल कम्युनिस्ट पार्टीलाई दमन गर्ने सोच राखेको अभिब्यक्ति दिएका छन् । गृहमन्त्रालय आयोजित नियमित सम्मेलनमा संचारकर्मीमाझ धारणा राख्दै गृहमन्त्री बादलले देशमा अस्थिरता फैलाउने काममा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी गइराखेको आरोप लगाए । बादलले विप्लवलाई ‘राज्यद्रोही’को संज्ञा दिँदै व्यवहारमा सच्चिाएर नआए सरकार कडा रुपमा प्रस्तुत हुने बताए । नेपाल कम्युनिस्ट पार्टीको गतिविधि राजनीतिक प्रवृत्तिमा आधारित भए पनि उग्रवाद हाबी रहेको उनको भनाई छ । ‘अहिलेको संविधानलाई मान्दैनौं, राज्य व्यवस्थालाई उल्टाउनुपर्छ भन्छ, आपूmलाई नेकपा विप्लव भन्छ’ उनले भने । नेकपासँग राजनीतिक व्यवहार गर्न नसकिने उनको धारणा थियो । चुनावका बेला बम पड्काउने र एनसेलका टावरहरुमा बम हान्ने काम विप्लव नेतृत्वको नेकपाले गरेको उनको दावी थियो । ‘उनीहरुलाई राजनीतिक मूलप्रवाहमा ल्याउन प्रधानमन्त्री तहबाटै प्रयास भइरहेको छ’ उनले बताए ।
स्मरण रहोस्, विप्लव र बादल तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवाद)द्वारा दलाल संसदीय व्यवस्थाविरुद्ध नयाँ जनवादी सत्ता स्थापना गर्ने उद्देश्यसाथ संचालित दस वर्षे जनयुद्धका सहयात्री हुन् । अहिले विप्लव जनयुद्धका उद्देश्यप्रति तत्कालीन नेतृत्व तहका प्रचण्ड–बाबुरामहरुले धोका र गद्दारी गरेको भन्दै पार्टीलाई नेकपा पुनर्गठन गरेर वर्तमान संसदीय व्यवस्थालाई भत्काई वैज्ञानिक समाजवादी राज्यसत्ता स्थापना गर्न एकीकृत जनक्रान्तिको कार्यदिशा बोकेर संघर्षरत छन् । तर लामो समय मोहन वैद्य नेतृत्वको पार्टीमा रहेर धेरैपछि मात्र प्रचण्ड कित्तामा बिलय हुन् पुगेका बादल अहिले पुरानै संसदीय व्यवस्थाअन्तर्गत सरकारका गृहमन्त्री छन् ।
यसैबीच, सरकारको राष्ट्रघात र राज्यआतंकका विरुद्ध नेपाल कम्युनिस्ट पार्टी, मोहन वैद्यले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी ) र ऋषि कट्टेलले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीले संयुक्त रूपमा ओली सरकारका राष्ट्रघात र राज्य आतंकका विरुद्ध विरोध प्रदर्शन गर्ने भएका छन् । ओली सरकारले चरम राष्ट्रघात गरेको, लगातार पेट्रोलियम पदार्थमा मूल्यबृद्धि गरेको र जनताको ढाड सेक्नेगरी महँगी बढाएको भन्दै तीन कम्युनिस्ट पार्टीले जेठ ३१ गते संघर्षको कार्यक्रम घोषणा गरेका हुन् । सरकारले बिनापुर्जी विप्लव नेतृत्वको नेकपाका नेता कार्यकर्ता गिरफ्तार गरेर राज्यआतंक सिर्जना गरेको भन्दै आपूmहरूले विरोध प्रदर्शन गर्न थालेको विज्ञप्तिमा उल्लेख छ ।
तीन पार्टीका तर्फबाट नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेलद्धारा जारी विज्ञप्तिमा सरकार गठन भएको तीन महिना नवित्दै जनता महँगी र मूल्य बृद्धिको मारमा परेको भन्दै संयुक्त रुपमा बिरोध घोषणा गरिएको जानकारी दिएका छन् । तीन पार्टीले यही जेठ ३१ गते दिउँसो १ बजे शान्तिवाटिकामा हुने विरोध प्रदर्शनमा सहभागीका लागि सबैमा अपिल समेत गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]