नेकपाद्वारा ९९ रोपनी जग्गा कब्जा

काठमाडौं, २८ जेठ । नेपाल कम्युनिस्ट पार्टीको जनपरिषद् रामेछापले ९९ रोपनी जग्गा कब्जा गरेको छ । जिल्लाको खाडादेवी खैरेनीमा रहेको सार्वजनिक जग्गा ब्यक्तिले हडपेकोले सो जग्गा सार्वजनिक नै हुनुपर्ने भन्दै कब्जा गरिएको जनपरिषदले जनाएको छ । जनपरिषद रामेछापको नाममा जारी गरिएको सार्वजनिक अपिलमा आर्थिक चलखेल गरी सार्वजनिक जग्गा स्थानीय ६ जना ब्यक्ति मिलेर ब्यक्तिगत बनाएकोले कब्जा गरिएको र उक्त जग्गा कसैलाई पनि किनबेच नगर्न आग्रह गरेको छ ।
रामेछापको खाँडादेवी गाउँपालिका–१ खैरेनीमा रहेको उक्त जग्गा आइतबार मध्यराति झण्डा गाडेर कब्जा लिएको घोषणा गरेको हो । सोही ठाउँमा टाँसेको अपीलअनुसार खाँडादेवी–१ राकाथुमका मानबहादुर तामाङ, सिंहबहादुर लामा, गणेशबहादुर तामाङ, सोही गाउँपालिकाको वडा नम्बर २, मझुवाका रोजबहादुर तामाङ र तेजबहादुर तमाङ, दोरम्बा गाउँपालिका–२ दोरम्बाका चण्डिलाल तामाङको नाममा रहेको उक्त जग्गा कब्जामा लिएको उल्लेख छ ।
जग्गा कब्जा गर्नुका चार कारण
जनपरिषद्ले २०३८-३९ सालतिर उनीहरुले सार्वजनिक लिएको सार्वजनिक अपीलमा उल्लेख छ । त्यसैगरी जग्गा कब्जा गर्नुका चार कारण पनि बुँदागत रुपमा उल्लेख गरिएको छ ।
१. नापी विभागलाई ठूलो रकम दिई अमिन ल्याई नक्सा पास गरेको ।
२. गाउँका सोझा सिधा जनतालाई ललाई फकाई जग्गा दिन्छु भन्दै पैसा उठाएको तर हालसम्म जग्गा पनि नदिएको र पैसा पनि नदिको ।
३. नीज व्यक्तिहरु ज्नविरोधी क्रियाकलापमा संलग्न भएको ।
४. सार्वजनिक जग्गा पैसाको भरमा व्यक्तिको नाममा गरी किनबेचको प्रचार गरी जनता ठगेको ।
कब्जा गरिएको जग्गा किनबेच गरे जस्तोसुकै कमद चाल्न बाध्य हुने चेतवानी पनि जनपरिषद्ले दिएको छ ।