गजल -लिला दाहाल अधिकारी

आत्मालाई छोडेर ढुङ्गालाई पुज्छ मान्छे
पुज्नेलाइ छोडेर मुर्तिको अगाडी झुक्छ मान्छे
बुझेर हो कि नबुझेर हो बुझ्नै गाह्रो
भित्र व्यथा लुकाय बाहिर खुल्छ मान्छे
भित्र पाप बोकेर धर्मको नाममा दाम कमाउनेहरु
फुलको थाली बोकेर देश बिदेश डुल्छ मान्छे
मानवताको परिभाषा खोज्न शव्द कोष पल्टाउने ले
रटेर घोकेर भए पनि आदर्शको कुरा भुक्छ मान्छे
गफ गर्दा आकसकै तारा झार्छु भन्नेले
अलि कति सहयोग माग्दा आफैमा लुक्छ मान्छे
दिन रात आदर्श र नैतिकताको प्रवचन दिनेले
घरमा लक्ष्मीको तिरस्कारगर्दै बाहिर झुल्छ मान्छे
*********
भगवान पनि कलियुगमा पत्थर भएछ
अमृत सम्झेथे तिम्रो माया जहर भएछ
निस्ठुरिको यादले जलिदिन्छ मन मुटु
थाहा छैन खै कस्तो असर भएछ
मायाले जीन्दगी स्वर्ग बन्छ भन्थे सबै
खै यो माया जीन्दगीमा पतझर भएछ
रोपेको थिए बगैंचामा प्रेमको फुल
शोभा न बास्ना बिनाको अत्रर भएछ
*********
किन तिमी मेरो जीन्दगीको खास भयौ
आफ्नो प्राण भन्दा नि प्यारो श्वास भयौ
हरपल मिठो सपनाको महलमा हराउँछु
तिमी नै राज मन भित्रको बाँस भयौ
तिम्रो याद्ले रातदिन छ्ट्पटिदा
जीन्दगी बिझाउने कपास भयौ
नगर है यो जीन्दगीमा कुनै विग्रह
तिमी मेरो जीन्दगीमा समास भयौ