सुन तस्करी अनुसन्धान समितिका संयोजक पौडेलको सरुवा !
काठमाडौं, १० साउन । साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणको अनुसन्धान गर्न गठित समितिका संयोजक ईश्वरीराज पौडेललाई अध्यागमन विभागमा सरुवा गरिएको छ । २०७४ चैत ३० गते पौडेलको संयोजकत्वमा सुन तस्करको अनुसन्धान गर्न समिति बनाइएको थियो । पौडेलको नेतृत्वमा गठन भएको विशेष अनुसन्धान समितिलाई सुरुमा ४५ दिनको समयसीमा दिइएको थियो । तर, काम नसकिएपछि जेठ मसान्तसम्मका लागि म्याद थपिएको थियो । अनुसन्धान नटुंगिएको र सुन तस्करीका मुख्य लगानीकर्ता एमके अग्रवाललगायतका केही अभियुक्तहरु फरार रहेकाले म्याद थपिएको थियो । तर अग्रवाल अझै पनि पक्राउ परेका छैनन् । नेतासमेतको सुन तस्करीमा संलग्न दाबी गरिए पनि समितिले प्रहरीका वर्तमान र केही पूर्व अधिकारीलाई मात्रै समातेको थियो । पौडेललाई सरुवा गरेपछि सरकारले सुन तस्करका मुख्य नाइकेका साथै नेतालाई पनि कानूनको दायरमा ल्याउने भनिएपनि पौडेलको सरुवासँगै सरकारको कदमको आलोचना सुरु भएको छ ।