संसोधनवाद वारे केही कुरा – बलराम तिमल्सिना

२०७५ श्रावण १० गते, बिहीबार

हामीमध्ये धेरैको दिमागमा संसोधनवाद खराव हो भन्ने सामान्य समझदारी त छ तर संसोधनवाद भनेको आफूलाई कम्युनिष्ट नभन्ने खुल्ला पूँजीवादभन्दा अलिकति भने पनि ठीक हुन्छ भन्ने गहिरो भ्रम छ । आफूलाई कम्युनिष्ट भन्नेहरू जो सुकै हुन ती मार्क्सवादीहरूका नजिकका दाजु भाइहरू हुन भन्ने जस्तो भ्रमले ठूलो काम गरेको छ । त्यसैले संसोधनवादसँग लड्ने प्रसङ्गमा ती साथीहरू कतै प्रतिकृयावादलाई फाइदा पुग्ने हो कि भनेर सतर्क हुन्छन् । उनीहरू यो बुझ्दैनन् कि संसोधनवाद भनेको खाँट्टी पूँजीवाद हो र पूँजीवाद भनेको संसोधनवाद हो । मार्क्सवादका क्रान्तिकारी कुराहरू झिकेर त्यसमा पूँजीवाद हालेर मार्क्सवादको नाममा ठगी धन्दा चलाउँनेहरूलाई नै संसोधनवादी भनिन्छ । मार्क्सवादलाई पूँजीवादी ढाँचामा संसोधन गर्ने भएकाले संसोधनवादी भनिएको हो । एकछिनको लागि मान्नूस- बजारमा चरेस या अफिम भनेरै चरेस या अफिम बेच्नेहरू बढी खतरनाक होलान कि , बच्चाको औषधि भनेर चरेस र अफिम बेच्नेहरू बढी खतरनाक होलान ? यी दुईथरिमा कसले बढी समाजलाई घाटा पुग्ने काम गर्लान या यी दुईमा को बढी अनैतिक होलान ? समाजले यी दुईमध्ये कोसँग बढी सतर्क रहनु पर्ला ? कुरा प्रस्ट छ – यी दुईमा दोश्रो खालका मानिसहरू बढी अनैतिक छन् । पहिलो थरिले त सुरुमै चरेस या अफिम भनेर व्यापार गर्ने भएकोले चरेस या अफिमका अम्मलीहरू मात्रै तिनीहरूको सम्पर्कमा पुग्छन र चरेस र अफिमको कुलतको शिकार प्राय पूर्व- अम्मलीहरू मात्रै हुन्छन् । तर दोश्रो थरिले बच्चाको औषधि भनेर लागू औषधि बेच्ने हुनाले कहिलै लागू औषधि सेवन नगरेका निर्दोष बच्चाहरू शिकार बन्छन् । उनीहरूले औषधि पाउँनु कता हो कता उल्टै विष पाउँछन् । अव भन्नुस बच्चालाई औषधि भनेर विष खुवाउँनेहरू समाजका दुश्मन हुन कि दाजुभाइ हुन ?
संसोधनवाद भनेको बच्चाको औषधि भनेर लागू पदार्थ बेच्ने ठग बनियाँ जस्तै अनैतिक कुरा हो । त्यसैले मार्क्सवादले संसोधनवादलाई सुरुदेखि नै घृणा गर्छ ।
संसोधनवादको जन्म पूँजीवादसँग लड्न भएको होइन बरू मार्क्सवादभित्र पूँजीवाद हुल्न विचौलियाको रुपमा भएको हो ।त्यसैले संसोधनवाद मार्क्सवादको दुश्मन र पूँजीवादको भिन्न संस्करण हो , अर्थात कम्युनिष्ट आन्दोलन र मार्क्सवादको नाममा पूँजीवादको सेवा गर्ने बिचारलाई संसोधनवाद भनिन्छ ।
संसोधनवादीहरू भनेका कम्युनिष्ट आन्दोलनभित्रका पूँजीवादसँग डराएका, बिकेका या कम्युनिष्ट आन्दोलनको घाँटी रेट्ने कसम खाएका पूँजीवादका एजेन्टहरू हुन् । तिनीहरू मजदूर आन्दोलनभित्र जन्मेका गद्दारहरू हुन । त्यसैले संसोधनवादीहरू नजिकका आफन्तहरू हुन भनेर सोच्ने तरिका पनि संसोधनवादी सोच नै हो । कम्युनिष्ट आन्दोलनलाई लगेर पूँजीवादको खुट्टामा बिसाउँने गद्दाहरूसँग अलिकति पनि घृणा जन्मदैन भने मभित्र पनि संसोधनवादले गर्भधारण गरिसकेछ भनेर सोच्न थाले हुन्छ ।
हाम्रो देशमा दर्जनौं नामधारी कम्युनिष्टहरू छन् ।तीमध्ये धेरै जसोले संसदीय बाटो अवलम्वन गरेका छन् । धेरै जसो संसद र सरकारमा छन् ।अहिले त संसदको बहुमत नै कम्युनिष्ट भन्नेहरूको छ । तिनीहरूमध्ये कसैले कुनै जमानामा झापा आन्दोलन गरेका थिए र कसैले जनयुध्द गरेका थिए। तिनीहरूले आफूलाई कम्युनिष्ट हौं भनेर दावा गर्ने त्यही ऐतिहासिक विरासत छ । वर्तमानमा हेर्ने हो भने तिनीहरू पुरानो प्रतिकृयावादी राज्य मेशीनरीमा जागिर खान गएका छन। सरकार भन्ने कुरा राज्य सत्ताको असाध्यै अस्थायी संरचना मात्रै हो ।
आजसम्म कम्युनिष्ट भन्नेहरूको ध्यान सरकारमा जाने र पूर्व-शासकहरूले जस्तै ज्यान छोडेर खानेमा मात्रै पुगेको देखिन्छ । राज्यसत्ताको आधारभूत चरित्रलाई हेरफेर नगरी या वलपूर्वक पूरानो सत्तालाई बिघटन नगरी बनिबनाऊ सत्तामा जानेहरूले धेरै केही गर्न पनि सक्दैनन् । गर्न सक्नु या नसक्नु दोश्रो कुरा हो तर यिनीहरूको दिमागमा यो सत्तालाई बिघटन गर्नु पर्छ भन्ने सोच कैले पलाएन बरू सरकारमा पुग्नासाथ यही सत्तालाई सुदृढ गर्ने कुरा गर्न थाले । सरकारमा पुगेपछि अरु पूँजीवादीहरू भन्दा भिन्न हुने सोच कहिलै पलाएन बरू कसरी देशी विदेशीहरूलाई आफू पनि “उस्तै भएकोले शङ्का नगर्नु” भनेर विश्वास दिलाउँन नै तल्लिन रहे । आधारभूत जनताको हिततिर सोच्ने भन्दा जनताबाट लुकाई छिपाई धन बटुल्न र नाता गोता पोस्न मात्रै व्यस्त रहन थाले । चुनावमा जनतालाई जे पनि भनेर ढाँट्ने र चुनाव पछि धोका दिने कुरामा नेपाली संसोधनवाद अरु पूँजीवादीहरू भन्दा अगाडि देखियो ।
त्यसैले संसोधनवादको भण्डाफोरको प्रश्न कुनै अर्थमा पनि कम्युनिष्टको भण्डाफोर गर्ने प्रश्न होइन वरु साम्राज्यवादको ठगीको भण्डाफोर गर्ने निकै महत्वपूर्ण र अनिवार्य प्रश्न हो ।
नेपालको कम्युनिष्ट आन्दोलन संसोधनवादसँग लड्ने मामलामा धेरै नै नरम छ । संसोधनवादसँग दुश्मनीपूर्ण संवन्ध बनाउँने भन्दा मैत्रीपूर्ण व्यवहार गर्ने , अनावश्यक लसपस गर्ने र कुनै न कुनै रुपमा प्रतिकृयावादी राज्यसत्तासँग आश्रित हुने समस्या छ । जस्तो नेपालमा प्रलेस नाम गरेको एउटा साहित्यिक संस्था छ , यसमा वर्तमान सरकारको नेतृत्व गर्ने पार्टीदेखि आफूलाई विद्रोही हुँ भन्ने पार्टी समेत सँगै छन् । उनीहरू हरेक पटक पदहरूको भागवण्डा गर्छन् र सँगै बस्छन् । सामन्तवाद र साम्राज्यवादको विरोध गर्ने भनेर जन्मेको प्रलेश सामन्तवाद र साम्राज्यवादको दलमसान हेरेर बस्छ । आफू संलग्न पार्टीको सरकारले देशघाती-जनघाती काम गर्दा प्रलेस वोल्दैन वरु कसरी छोपछाप पार्ने भनेर सोच्छ । त्यस्तै अरु उदाहरणहरू छन् , जस्तै- देशमा विभिन्न प्रगतिशील/ प्रगतिवादी मृतक व्यक्तिहरूका नाममा खुलेका प्रतिष्ठानहरू छन् ।ती प्रतिष्ठानहरू प्रत्येक वर्ष अहिलेकै सरकारसँग अनुदान माग्न निदेदन दिन्छन् । अनुदान प्राप्त भएपछि अरु सामान्य संगठनहरूले जस्तै हारालुछ गरेर खानपिन गर्छन र खर्चको फाँटवारी मिलाएर आफू ‘नैतिक’ पल्टन्छन् ।यस्ता संगठनहरूमा झोलामा कार्यलय राखेर वर्षमा एउटा कार्यक्रम गरेर परिवार पाल्नेदेखि लिएर आफूलाई खाट्टी क्रान्तिकारी भन्ने सम्म छन् । मैले जोड दिन खोजेको कुरा के हो भने – आफूलाई क्रान्तिकारी भन्न चाहने यौटा पनि यस प्रकारका संगठन स्वनिर्भर छैनन् बरू सरकार निर्भर छन् ।फरक कति छ भने कुनै संगठनले सँधै सत्तालाई नमस्ते ठोक्छन् भने केहीले भने अनुदान झार्ने वेलामा मात्रै नमस्कार ठोक्छन् ।
संसोधनवादको अन्तराष्ट्रिय एउटा चरित्र छ त्यो हो – राज्यसत्ता र सरकारलाई छ्यासमिस पारेर बुझाउँने चरित्र । राज्यसत्ता बनेको स्थायी चिज हो र राज्यसत्ताको मियो भनेको सेना हो । सेना भएपछि आधारभूत रुपमा राज्यसत्ता बन्छ । संसद भए पनि नभए पनि , मन्त्रीमण्डल भए पनि नभए पनि खास फरक पर्दैन ।सरकार हुनु र नहुनु पनि ठूलो कुरा होइन । कामचलाऊ सरकार भएको बेला पनि राज्य त चलिरहेकै हुन्छ । कसरी चल्छ त राज्य ? सत्ताधारी बर्गले आफ्नो शासन चलाउँन सेनाको गठन गर्छ ।प्रहरी पनि सेना कै अङ्ग हो । कर्मचारी, अदालत लगायत अरु सवै संरचना सेनाभन्दा तल हुन्छन् । मर्यादाक्रममा सेनाको प्रमुख जो भए पनि सेना राज्यका सामान्य नियम कानूनभन्दा माथि हुन्छ र संसारमा सत्ताको कु सेनाले मात्रै गर्छ । राज्यको चरित्र मन परेन भने सेनाले कू गर्छ । सेनाको उच्च तहमा शोषक वर्गका मानिसहरू हुन्छन् । यो राज्यको स्थायी संरचनालाई बिघटन नगरी खुसुस्क सरकारमा गएर समाजवाद आउँछ भन्नेहरू एक नम्वरका ठगहरू हुन र यो कुरा यिनीहरूलाई ख्रुश्चेवले सिकाएको हो ।
संसोधनवादको अर्को एउटा यस्तै चरित्र छ , त्यो हो- सरकार र पार्टीको कस्सिएर आलोचना गरेजस्तो गर्ने तर राज्यसत्ताको बेस्सरी उपयोग गर्ने चरित्र । यो मिहिन पाराको संसोधनवादी चरित्र हो । आफूलाई चौबीस क्यारेटको असली कम्युनिष्ट भन्न रुचाउँने कैयन प्राध्यापक तथा वुध्दिजीवीहरू राज्यको जागिर माजाले खान्छन। जागिरको क्षेत्रमा राज्यको आँखामा ती कैलै बिजाउँदैनन् वरु “असल राष्ट्रसेवक” देखिन्छन् ।विश्वविद्यालयका पदीय भागबण्डामा टोपी झिकेर हामफाल्छन र कुनै न कुनै पद पड्काउँछन् । सरुवा बढुवा र विभिन्न नियुक्ति पाउँन सत्ताको जमेर चाकरी गर्छन् । विश्वविद्यालय, प्रज्ञा प्रतिष्ठान लगायतमा जागिर पनि खाने र क्रान्तिकारी पनि बनिरहन पाइने छुट भएको देश हो यो । मैले यी कुरा कुनै खास साथीलाई खुइल्याउँन भनिरहेको छैन ।हिजोसम्म म पनि यस्ता कैयन कुरामा भ्रममा नै थिएँ । आज आएर हेर्दा हिजो आफैंले गरिआएको काममा पुनर्विचार गर्नु पर्ने जस्तो लाग्न थाल्यो । हामीले जेलाई मार्क्सवाद भनेर भन्यौं त्यो मार्क्सवाद थियो कि संसोधनवाद थियो भनेर सोच्ने समय आए जस्तो लाग्यो । हामी संसोधनवादकै भुलभुलैयामा एकले एर्कोलाई गाली गरेर त समय खेर फालिरहेका छैनौं भनेर सोच्नु पर्ने भयो । त्यसको लागि हामीले पहिलो निर्मम प्रश्न आफैलाई सोध्नु पर्ने देखियो ।त्यो प्रश्न हो- ‘के म जे कुरालाई मार्क्सवाद भनिरहेको छु , त्यो यथार्थमा मार्क्सवादै हो त ?’ या कतै म पनि संसोधनवालको वकालत गर्ने ठग काम त गरिरहेको छैन ? या मैले पनि श्रमजीवि वर्गलाई अरु ठगहरूले जस्तै धोका दिने काम त गरिरहेको छैन ? हरेक इमान्दार मार्क्सवादीको दिमागमा यी कुर् खेल्नै पर्छ । हामीले वारम्वार आत्मसमिक्षा गर्नै पर्छ र आत्माआलोचक हुनै पर्छ । यहाँनिर ध्यान दिनु पर्ने कुरा के छ भने – संसोधनवादी खद्दारहरू कैलै आत्मालोचक हुदैनन् । उनीहरूले आत्माआलोचना भनेर केही गरिहाले भने पनि त्यो जनतालाई अझ ठग्ने भयानक षडयन्त्र मात्र हुन्छ ।
र अन्तमा , क्रान्तिकारी बर्गसङ्घर्ष सिथिल भएको र संसोधनवादले दुईतीहाईको दुहाई दिएको वर्तमान अवस्थामा संसोधनवादका विरुध्द क्रान्तिकारी मार्क्सवादको झण्डा उठाउने काम धेरै नै चुनौतीपूर्ण छ । संसोधनवादीहरूले सत्ता समेतको दुरुपयोग गरेर मानिसहरूलाई भ्रष्ट बनाउँने काम गरिरहेको छ । सरकारी जागिरे या आइएनजिओका हाकिमहरूले अन्तत मार्क्सवादको झण्डा फाल्ने पक्का हुन्छ । उनीहरूले मार्क्सवादको झण्डा इज्जत बढाउँन मात्र बोक्ने हुन् । जनताको ठूलो हिस्सामा कम्युनिष्ट आन्दोलनप्रति आकर्षण रहेको थाहा पाएर तिनै जनतालाई भ्रम दिन उनीहरू मार्क्सवादको झण्डा बोकेजस्तो मात्र गर्छन् । लेनिनले भनेजस्तो ‘प्रोरिटारियट’ हाम्रो देशमा असाध्य कम छन् र संभवत तिनीहरू राजनीतिको पृष्ठभागमा मतदाताको रुपमा छन् । जो राजनीतिमा छन् ती न्युन-मध्ययम वर्गीय किसानदेखि सहरीया मध्ययम वर्ग र अव आएर दलाल पूँजीपति र माफियाहरू छन् ।जो जनताको तल्लो बर्गबाट आएका थिए ती कि त राजनीतिबाट किनारा लागे, पृष्ठभागमा धकेलिए ,श्रमको लागि विदेश पलायन भए र थोरै बचेका पूँजीवादको असली नोकरमा बदलिए । राजनीतिका हर्ताकर्ताहरू किसान मजदूर छैनन् । कम्युनिष्ट भनिने पार्टीको मूख्य नीति निर्माणको तहमा अव माफियाहरूको हालिमुहाली छ । यस्तो अवस्था संसोधनवाद जन्मन हुर्कन र झाङ्गिन अनुकूल अवस्था हो । संसोधनवादलाई अली ठूलो स्वरले गाली गर्यो भने चित्त दुखाउँने प्रगतिशीलहरूको बहुमत भएको समय छ । यस्तो वेलामा आफूलाई मार्क्सवादको झण्डा उठाइरहन चाहनेले गहिरिएर सोच्न जरुरी छ ।मैले माथि एक पटक चर्चा गरेजस्तै हिजो अस्ति आफैले गरेका कामहरूको पनि आत्मसमिक्षा गर्न जरुरी छ । आफ्नै टाउकोमा पहिले आगो सल्काउँने भनेको पनि यही हो । आउँनु होस , एक पटक आफ्नै टाउकोमा आगो झोस्ने हिम्मत गरौं । संसोधनवादलाई शव्दले होइन आचरण र व्यवहार सहितले घृणा गरौं र मार्क्स ,एङ्गेल्स, लेनिन , स्टालिन र माओले उठाएको सर्वहारा वर्गको बर्ग सङ्घर्ष र सर्वहारा अधिनायकत्वको झण्डालाई दह्रोसँग पक्रौं ।

प्रतिक्रियाहरु

[anycomment]