अपराधिक व्यक्तिलाई जनकारबाही गर्ने उदघोष

काठमाडौं ,११ साउन । नेपाल कम्युनिस्ट पार्टी काठमाडौँ जिल्ला इन्चार्ज र पूर्व जनमुक्ति सेनाको कमाण्डर हुँ भन्दै करोडौं रकम बार्गेनिङ गर्दै
हिड्ने मनसुन शाहको कार्य प्रति नेकपा काठमाडौँले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । काठमाडौँ लाजिम्पाट निवासी भक्तपुरमा होटल व्यवसायी गर्दै आएका मनसुन शाहले करोडौं रकम बार्गेनिङ गर्दै उक्त रकम नदिए ज्यान मार्ने धम्की दिदै आएकोप्रति नेकपा काठमाडौँले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । शुक्रबार नेकपाका काठमाडौँ जिल्ला सेक्रेटरी भृकुटीले प्रेस विज्ञप्ति जारी गर्दै उक्त व्यक्ति पार्टीको नभएको र उसको अपराधिक कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छन । सेक्रेटरी भृकुटीले उक्त अपराधिक व्यक्तिलाई राज्यले संरक्षण गर्यो भने जनताले कारबाही गरेरै छाड्ने विज्ञप्तिमार्फत जानकारी समेत दिएकी छिन् ।
सेक्रेटरी भृकुटीद्वारा जारी विज्ञप्तिमा भनिएको छ – “देशमा सञ्चालित दलाल फासिवादी सरकार आफैले जारी गरेको संवैधानिक अधिकारलाई च्युत गरी सामाजिक फासीवादी हर्कत अगाडि बढाइरहेकै छ । जनतामा महंगी, भ्रष्टचारी कालोबजारी विकृति विसंगतिले सीमा नाघेको छ । जनताले शान्ति सुरक्षाको प्रत्याभूति गर्न पाएका छैनन् । यही परिस्थितिको फाइदा उठाउँदै देशमा गुण्डागर्दी बढ्दै गएको छ । विगत केही समययता नेपाल कम्युनिस्ट पार्टीको बदनाम गराउने कार्य विभिन्न व्यक्ति र समुहले गर्दै आएको सबैलाई अवगत नै छ । पछिल्लो समय काठमाडौं जिल्ला लाजिम्पाट निवासी भक्तपुरमा होटल ब्यवसायी गर्दै आएका मनसुन शाहलाई नेपाल कम्युनिस्ट पार्टी काठमाडौं जिल्ला इन्चार्ज र पूर्व जनमुक्ति सेनाको कमाण्डर हुँ भन्दै करोडौं रकम बार्गेनिङ गर्दै उक्त रकम दिए ज्यान रहने नत्र मारिदिने धम्की दिदै पटक पटक फोन गरी धम्की दिदै आएको पीडित पक्षले नेपाल कम्युनिस्ट पार्टीको आधिकारिक निकायमा अवगत गराएको छ ।”
“सो व्यक्ति हाम्रो पार्टीको नभएको र उसको आपराधिक कार्यप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । यस्ता आपराधिक मानसिकता भएका व्यक्ति÷समुहको भ्रममा नपर्न आम जनसमुदायलाई हामी सार्वजनिक अपिल गर्दछौ । यदि यस्ता अपराधिक व्यक्तिलाई राज्यले संरक्षण गर्यो भने जनताले कारवाही गरेर देखाउने छन् । यसको नेतृत्व नेपाल कम्युनिस्ट पार्टीले गर्ने पनि यसै विज्ञप्तिमार्फत स्पष्ट गर्न चाहान्छौं ।” विज्ञप्तिमा उल्लेख छ ।