नेकपाका पोलिट्ब्यूरो सदस्य जीवन्त र गम्भीर गिरफ्तार

काठमाडौं, १२ साउन । नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्यूरो सदस्य मोहन कार्की ‘जीवन्त’ र कृष्ण धमला ‘गम्भीर’लाई प्रहरीले बिहीबार काठमाडौंको थानकोट नागढुंगाबाट गिरफ्तार गरेको छ । सार्वजनिक बसमा चढेर काठमाडौं आउँदै गरेका कार्की र धमलालाई प्रहरीले नागढुंगामा बसबाट झारेर गिरफ्तार गरिएको तर कहाँ लगिएको भन्ने खुलेको छैन । प्रहरीले दुबै नेताका घरपरिवारका सदस्यलाई समेत कुनै जानकारी दिएको छैन । परिवारले बेपत्ता पारेको दाबी गरेका छन् ।जिल्ला प्रहरी कार्यालय काठमाडौंले उनीहरुलाई पक्राउ नगरेको बताएको छ । तर, प्रहरीका केही अधिकारीले भने नाम नभन्ने शर्तमा उनीहरु दुबै जनालाई काठमाडौंको बालाजु गोलढुंगा प्रहरी चौकीमा राखिएको जानकारी दिएका छन् । यसैबीच नेपाल कम्युनिस्ट पार्टीले कार्की र धमलालाई तत्काल रिहा गर्न माग गरेको छ । प्रहरीले उनीहरुलाई विना कारण पक्राउ गरी वेपत्ता बनाइएको भन्दै त्यसप्रति नेकपाले आपत्ती समेत जनाएको छ ।
त्यसैगरी नेता कार्की र धमलाका परिवारले उनीहरुलाई खोजि गरिदिन मानव अधिकार आयोगसहितका अधिकारकर्मी, पत्रकार र नागरिक समाजलाई आग्रह गरेका छन् ।