सप्तरीमा ५० प्रतिशत जग्गा बाँझै
काठमाडौं, १५ साउन । साउनको दोस्रो सातासम्ममा सप्तरीमा ५० प्रतिशत जमीनमा मात्र धान रोपाइँ भएको छ । यस वर्ष शुरुमा मनसुन कमजोर भई पर्याप्त वर्षा नहुँदा र दुई सता अगाडि वर्षासँगै जिल्लाको विभिन्न खोलामा आएको बाढीका कारण खेतीयोग्य जमीन डुबानमा परेकाले पनि जिल्लामा ५० प्रतिशत खेत अझै बाँझो रहेको जिल्ला कृषि विकास कार्यालयले जानाएको छ । जिल्लामा उचित सिँचाइको अभावसँगै अकासे पानीको भरमा यहाँ सधैँ हुने खेती असार बितिसक्दासम्म ३५ प्रतिशत मात्र धान रोपाइँ भएको वरिष्ठ कृषि अधिकृत भगीरथ यादवले बताए । जिल्लामा कूल ७० हजार हेक्टर खेतीयोग्य क्षेत्रफलमध्ये असारको अन्तिमसम्म १७ हजार ५०० हेक्टर जमीनमा मात्र धान रोपाइँ भएको उनको भनाइ थियो । मुलुककै पुरानो नहरका रुपमा रहेको चन्दर नहर जीर्ण र जिल्लामा रहेको अन्य नहरमा खेतीको समयमा पर्याप्त पानी नआउनाले यहाँ धान रोपाइँमा ढिलाइ हुने गरेको कृषकको गुनासो थियो ।
त्यस्तै कोशी पश्चिमी नहर वितरण प्रणालीको क्षमता १३ हजार ३०० हेक्टरमा सिँचाइ गर्ने रहे पनि छ हजार ६१६ हेक्टरमा मात्र पुगिरहेको छ । अन्य सिँचाइ आयोजनामध्ये ग्रामीण पूर्वाधार विकास कार्यक्रमले तीन हजार ६६५ हेक्टर तथा सेक्टर सिँचाइले दुई ५०० हेक्टरमा मात्र सिँचाइ सुविधा पु-याइरहेको जिल्ला कृषि विकास कार्यालयको तथ्यांकमा उल्लेख छ ।