भारतद्वारा फिल्ड अफिस बन्द

२०७५ श्रावण १६ गते, बुधबार

काठमाडौं, १६ साउन । भारतीय दूतावासले विराटनगरको भारतीय फिल्ड अफिस बन्द गरेको छ । दूतावासले केही साता अघि प्रेस विज्ञप्ति जारी गर्दै १० वर्ष अघि स्थापना गरेको सो फिल्ड अफिस हटाउने जनाएको थियो । सोही अनुसार फिल्ड अफिस विराटनगरबाट काठमाडौंस्थित राजदूतावासमा स्थानान्तरण गरिएको हो । मोरङका सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले दूतावासको फिल्ड अफिसको सेवा बन्द गरिएको सुन्नमा आए पनि आधिकारिक रुपमा भने कुनै जानकारी नआएको बताएका छन् । उनले नेपाल र भारत सरकारबीचको उच्च नेतृत्व तहको कुरा भएकाले यस बिषयमा जानकारी नगराइएको हुन सक्ने बताए । प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जाँदा फिल्ड अफिस सार्ने सम्बन्धमा भारतीय पक्षसँग कुराकानी भएको थियो ।
यसअघि नै भारतीय दूतावासको फिल्ड अफिस हटाउने भनिए पनि कार्यान्वयमा आउन सकेको थिएन । २०६५ भदौ ४ गते सप्तकोशीको बाँध फुटेपछि बाँध निर्माणका लागि भन्दै फिल्ड अफिस निर्माण गरिएको थियो । विराटनगरस्थित फिल्ड अफिसबाट हुँदै आएको काम अब काठमाडौंस्थित भारतीय दूतावासबाटै हुने भएको बताइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]