जथाभावी फोहर फाल्नेबाट पाँच लाख असुल

२०७५ श्रावण १७ गते, बिहीबार

काठमाडौं, १७ साउन । आर्थिक वर्ष २०७४/०७५ मा काठमाडौं महानगरपालिकाले जथाभावी फोहर फाल्नेबाट पाँच लाख बढी रकम असुल गरेको छ । महानगरका मुख्य सहर कालिमाटी चोक, कलंकी चोक, बागबजार, पुतलीसडक, बल्खु, चाबहिललगायतका स्थानबाट जहाँतहीँ फोहर फाल्ने १८१ जनाबाट कारबाहीस्वरुप रु पाँच लाख ६ हजार १५० असुल गरिएको हो ।
त्यसैगरी, अघिल्लो आवमा १४२ जनाबाट रु पाँच लाख असुल गरेको थियो । महानगर वातावरण व्यवस्थापन महाशाखा प्रमुख हरि कुँवरकाअनुसार कामपाको गाडी फोहर लिन आउँदा फोहर नफ्याँक्ने, अन्य समयमा जथाभावी र कामपाले तोकिएको स्थानमा फोहर नथुपार्ने १८१ जनालाई कारबाही गरेको हो । उनकाअनुसार विशेष गरी पुतलीसडक, बागबजार, न्यूरोड, जमल क्षेत्रमा रातिको समयमा बढी मात्रामा फोहर फाल्ने गरिएको छ । हरेक दिन काठमाडौं उपत्यकाबाट एक हजार मेट्रिकटन फोहर जम्मा हुने गरेको छ । विभागले जथाभावी फोहर फाल्नेबाट न्यूनतम् रु ५०० देखि एक लाखसम्म जरिवानाको व्यवस्था गर्दै आएको छ । त्यसरी फोहर फाल्नेमा संस्थाभन्दा बढी व्यक्ति रहेका छन् । हरेक दिन कामपाले काठमाडौं उपत्यकाको ८०० मेट्रिकटन फोहर व्यवस्थापन गर्दै आएको छ ।
अहिलेसम्म कामपाले तोकिएको स्थानभन्दा अन्त फोहर थुपार्नेलाई सम्झाउने र कारबाहीस्वरुप आर्थिक रकममात्रै असुल गर्दै आएको छ ।आगामी दिनमा पनि यसरी भनेको नमानेर जहाँतहीँ फोहर फोलेको प्रमाणसहित फेलापारेमा संस्था र व्यक्तिलाई अन्य कारबाहीको प्रक्रिया अघि बढाउने भएको छ ।- रासस

प्रतिक्रियाहरु

[anycomment]