प्रहरीले नै ‘म पूर्वमाओवादी हुँ’ भन्दै गिरफ्तार नेतालाई पिटेपछि…

२०७५ श्रावण २५ गते, शुक्रबार

काठमाडौं , २५ साउन । नेपाल कम्युनिस्ट पार्टीका गिरफ्तार नेतालाई प्रहरीले ‘पूर्वमाओवादी हुँ’ भन्दै पिटेपछि नेकपा नेता कार्यकर्ता आश्चर्यचकित भएका छन् । त्यसरी मुख्र्याईँ व्यवहार गर्ने साँच्चिकै पूर्वमाओवादी हुन् या नक्कली ? उनीहरु अहिले सोचमग्नमा परेका छन् ।
त्यति मात्र होइन, नेकपा शीर्ष नेता र तिनका छोराछोरीलाई समेत बद्नाम गराउने तिनै टोली लागिरहेका छन् । क्रान्ति र परिवर्तनप्रति नै नकारात्मक भावना पैदा गराउने किसिमबाट सोधपुछ र जनताले अधिकारका लागि गरिरहेका आन्दोलनमा विकृत र वितृष्ण उब्जाउने ढंगबाट नेकपाका गिरफ्तार नेता–कार्यकर्तालाई बयान लिने गरिएको छ ।
नेकपाका चार जना पोलिटब्यूरो सदस्य (पीबीएम) अहिले पनि प्रहरी हिरासतमा छन् । पीबीएम पदम राई ‘विकास’लाई भोजपुर, ओमप्रकाश पुनलाई बाँके, कृष्ण धमला ‘गम्भीर’ र मोहन कार्की ‘जीवन्त’लाई काभ्रे प्रहरीको धुलिखेल हिरासतमा राखिएको छ । ती नेताहरुलाई विष्फोट, आगजनी, कुटपिट जस्ता अभियोग लगाइएको छ । सरकारले बद्लाभावबाट उनीहरुमाथि सुनियोजित रुपमा अभियोग लगाई झुठा मुद्दा चलाउने कोशिस गरिरहेको भन्दै नेकपाले विरोध जारी राखेको छ । उसले नेपाल बन्दसम्मको संघर्षका कार्यक्रम समेत घोषणा गरिसकेको छ ।
यहाँ गम्भीर र जीवन्तलाई प्रहरीले अपराधीलाईझैं व्यवहार र अपशब्दले गालीगलौज गर्ने र चरम मानसिक तनाव गरिएको बुझिएको छ । राई र पुनमाथि राजनीतिक प्रतिशोधले गृहमन्त्रीको निर्देशनमा अनावश्यक दुःख दिइरहेको नेकपाले बताएको छ । नेकपाका प्रवक्ता प्रकाण्डलाई अपहरण शैलीमा गिरफ्तार गरी झण्डै १५ घण्टासम्म बेपत्ता पार्नु र हथकडी लगाएको अवस्थामा सार्बजनिक गर्नुले राज्यले नै कानूनको पालना नगरेको स्पष्ट हुन्छ ।
जीवन्त र गम्भीरलाई यही साउन १० गते उपत्यका प्रवेश गर्ने क्रममा आफूलाई सीबीआईका प्रहरी बताउने दर्जन संख्यामा आएका नकावधारीले काठमाडौंको नागढुंगाबाट गिरफ्तार गरी दुई दिनसम्म बेपत्ता पारेर काभ्रे सदरमुकाम धुलिखेल पुर्याएर बल्ल सार्वजनिक गरेका थिए ।
स्रोतका अनुसार गिरफ्तार लगत्तै दुवै जनालाई आँखामा कालो पट्टी बाँधेर सीबीआईका कार्यालय महाराजगञ्ज पुर्याएको र त्यहाँ उनीहरुलाई पार्टीको नीति र योजना अनि पार्टीका स्थायी समिति सदस्य, महासचिवबारे सूचना माग गर्दै केरकार गरिएको थियो । केरकारका क्रममा पार्टीका जिम्मेवार नेताहरु कुनैपनि बेला विदेश भासिने र तिनका छोराछोरीलाई उच्च सुविधा र अध्यायनमा राखिएको भन्दै क्रान्तिमा लाग्नुको व्यर्थ भएको बताएर मनोवैज्ञानिक दबाब दिइएको थियो । अधिकारका लागि जनताले उठाएको क्रान्तिलाई बद्नाम र विकृत बनाउने उद्देश्य राज्य संयन्त्रको लागेको बुझाई बन्दी नेताहरुको बुझाइ छ ।
‘महासचिव र उहाँका छोराछोरीको विषय ल्याएर गालीगलौज गर्नु राज्य हतास मनस्थितिमा रहेको देखिन्छ’ हिरासतमा रहेका एक पोलिटब्यूरो सदस्यले बताए । नेकपाले लिएको एकीकृत जनक्रान्तिको प्रभाव देखेर सत्तारुढ पार्टी प्रतिशोध भावनामा पुगेको उनको हिरासत बसाईँको अनुभव छ । उनले बयानको नाममा ‘केरकार’मा संलग्न अधिृकतसम्मले नेकपाको बढ्दो प्रभावकै कारण आफूहरुले धेरै दुःख पाइरहेको गुनासो समेत गरेका थिए । धुलिखेल हिरासतमा रहेका गम्भीर जीवन्तलाई भोलिपल्ट साउन ११ गते बिहान ४ बजेसम्म खान, बस्न र सुत्न नदिई फरकफरक पात्रले बयान लिँदै मानसिक यातनासहित राखिएको थियो । सोधपुछका क्रममा पार्टीको सूचना दिन नमानेको भन्दै कालो पट्टी बाँधिएकै अवस्थामा नेता गम्भीरलाई सीआईबी कार्यालयभित्र ‘तँ माओवादीलाई के थाहा छ ? म पनि पहिला जनयुद्ध लडेर आएको माओवादी हुँ, अहिले यहाँ जागिरे छु’ भन्दै बेजोडले पिटेको स्रोतले बतायो ।
सरकारको आदेशमा सुरक्षाकर्मीबाटै आफूलाई ‘पूर्वमाओवादी हुँ’ भन्दै पिटेको देखेर नेताहरु चकित भएका छन् । गृहमन्त्री बादल स्वयं जनयुद्धका संस्थापक सदस्य हुन् । दस वर्षे जनयुद्धको अन्तिमतिर उनी पूर्वी कमाण्ड ईन्चार्ज समेत थिए । उनै सम्हालेका गृह मन्त्रालय मातहातका कर्मचारीबाट भएका यस्ता व्यवहार र अभिव्यक्तिले संकटकालको झल्को दिएको नेकपाको भनाई छ ।
मुलतः पछिल्लो समयमा नेकपाका गिरफ्तार नेता तथा कार्यकर्तामाथि हिरासतमा रहँदा विभिन्न घटनासँग जोडेर बद्नाम गराउने र तिनका परिवार सदस्यहरुमाथि अनेक लाञ्छना लगाउने क्रम बढाइएको छ । कलेज र विद्यालयमा अध्ययनरत नेताका छोराछोरीको ‘उदाहरण’ दिएर ‘क्रान्तिमा सोझासिधा जनतालाई फसाइरहेको’ जस्ता अभिव्यक्ति बयान लिनेहरुबाट बारम्बार आउने गरेका छन् ।
नेकपाका गिरफ्तार नेताहरुलाई पार्टी शीर्ष नेता र तिनका परिवार सदस्यलाई बद्नाम गराउने किसिमले राज्यबाट अभिव्यक्ति आउनुलाई नेकपाले आपत्ति जनाएका छन् । अध्यायन, अनुसन्धान गर्न कसैलाई नरोक्ने, बरु हरेक शिक्षा निशुल्क बनाउने नीति लिएको बताएको छ ।
यसै विषयमा नेकपाका नेता र तिनका परिवार सदस्यलक्षित लाञ्छाना लगाएर प्रश्न गरिनुलाई के भन्नुहुन्छ भन्ने जिज्ञासामा नेकपाका केन्द्रीय सदस्य अमर झाँक्री ‘संजीव’ले सरकार हतास अवस्थामा पुगेको संकेतको रुप भएको बताएका छन् । उनले नेताका छोराछोरीले पढ्न नपाइने नीति नेकपामा नरहेको समेत स्पष्ट पारे ।
उनले एकीकृत जनक्रान्तिले पढ्न कसैलाई नरोकेको बताए । ‘प्रचण्डले जनयुद्धका बेला बुर्जुवा शिक्षा पढ्न हुँदैन, नपढेपनि जनताको सत्ता आएपछि सुख पाइन्छ भन्याजस्तो भ्रम एकीकृत जनक्रान्तिले दिँदैन’ झाँक्रीले भने ‘शिक्षदिक्षा भनेको मानव जीवनको समृद्धिका लागि अत्यावश्यक छ, बरु नेकपाले हरेक नागरिकलाई शिक्षा, स्वास्थ्य राज्यले निःशुल्क उप्लब्ध गराउनुपर्छ भनेर संघर्ष गरिरहेको छ ।’
शिक्षा र स्वास्थ्य दलालको हातमा पुर्याएको भन्दै झाँक्रीले भने ‘केपी–प्रचण्डको शिक्षा र स्वास्थ्य नीति अहिले जनताले भोगिरहेकै छन् नि । विद्यालय–कलेज र अस्पताल निस्कनुअघि नागरिकले मोटो रकम नबोकी उपाय नै छैन । त्यसैले यो दलाल सत्ता भत्काउनु पर्छ ।’
राज्यले नै अहिले नागरिकको मौलिक अधिकार शिक्षा र स्वास्थ्यलाई नीजि लगानीकर्तालाई सुम्पेर चरम व्यापार गर्न दिई सर्वसाधारणले सेवा लिनै नसक्ने गरी महंगी बढाएर उल्टै कमिशन खाइरहेको उनको भनाई छ । अहिलेका संसदीय व्यवस्था रहेसम्म देश स्वाधीन र जनता समृद्ध हुनै नसक्ने उनको निस्कर्ष छ ।
नेकपाले अघि सारेको राज्य व्यवस्थामा देश र जनताको जीवनमा शान्ति र समृद्ध हुने खाका रहेको बताउँदै वर्तमान दलाल पूँजीवादी संसदीय व्यवस्थालाई भत्काएर वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्न सम्पूर्ण जनता एकजुट हुन नेता झाँक्रीले अपिल गरे । राजनीतिक प्रतिशोधमा गिरफ्तार गरिएको नेकपाका सम्पूर्ण नेता, कार्यकर्ता र समर्थकलाई निसर्त तत्काल रिहा गर्न समेत उनले सरकारसँग माग गरेका छन् । – लालधवज लामा

प्रतिक्रियाहरु

[anycomment]