क्रान्तिकारी पत्रकार संगठनमा प्रकाश डुम्रेको नेतृत्व आधिकारिक

२०७५ भाद्र १२ गते, मंगलवार

काठमाडौं, १२ भदौ । नेपाल कम्युनिस्ट पार्टीले क्रान्तिकारी पत्रकार संगठनमा प्रकाश डुम्रेको नेतृत्व आधिकारिक भएको जनाएको छ । उसले पार्टीको भातृ संगठन क्रान्तिकारी पत्रकार संगठन नेपालबारे भ्रामक प्रचार गरिएको भन्दै ध्यानाकर्षण भएको समेत जनाएको छ ।
नेकपाका कोन्द्रीय समितिको तर्फबाट कार्यालय सचिव ध्रुवले एक प्रेस विज्ञप्ति जारी गर्दै संगठन र संगठन नेतृत्वबारे वक्तव्यबाजी गरेर भ्रम फैलाउने कार्य भएको भन्दै संगठनको अध्यक्ष प्रकाश डुम्रे रहेको प्रष्ट पारेका छन् । ‘भ्रममा नपर्न आग्रह’ शीर्षकमा राखेर जारी विज्ञप्तिमा डुम्रेको अध्यक्षता (नेतृत्व)मा गोलबन्द हुन र अनवाश्यक भ्रममा समेत सबैसँग आग्रह गरिएको छ । संगठनका केही सदस्यहरुले पार्टीको नीति र मर्यादा मिचेर वक्तव्यबाजी गरेको जनाउँदै संगठन र मातृ संस्थाको निर्णयहरु लत्याउने हर्कत नअपनाउन समेत भनिएको छ । संगठनको मातृ पार्टी नेकपाले संगठनको अध्यक्षसहित पाँचजना पदाधिकारीको नाम टुंग्याएर पठाइसकेपछि पनि संगठनको नेतृत्वबारे संगठनभित्रैबाट अनर्गल प्रचार र वक्तव्यबाजी भइरहेको बेला पार्टीको आधिकारिक धारणा सार्वजनिक भएको हो ।
संगठनका कमल बुढालगायतका केही सदस्यहरुले संगठन र माृत संस्थाका निर्णयहरुलाई लत्याउँदै अनावश्यक र भ्रामक प्रचार गरिरहेका छन् । यस्तो भ्रमबाट सबै मुक्त हुन र प्रकाश डुम्रेको बनेको टिम नै आधिकारिक रहेको जानकारी गराउँछौं’ जारी विज्ञप्तिमा भनिएको छ ‘अन्य सदस्यहरुलाई पनि डुम्रेको नेतृत्वमा गोलबन्द हुन आग्रह गरिन्छ ।’
स्मरण रहोस्, तत्कालीन नेतृत्व प्रभात चलाउनेको नेतृत्वमा रहेको क्रान्तिकारी पत्रकार संगठन, नेपालको गत बैशाख १५ मा काठमाडौंमा उद्घाटन कार्यक्रम सकेर भक्तपुरको नगरकोटमा बैशाख १६ र १७ गते दुई दिनसम्म चलेर सम्पन्न भएको तेस्रो राष्ट्रिय सम्मेलनबाट नेतृत्वसहित सम्पूर्ण पदाधिकारी टुंगो लगाउन मातृ पार्टीलाई जिम्मा दिइएको थियो । सोहीअनुरुप गत साउन पहिलो हप्ता बसेको नेकपाको केन्द्रीय समितिको र त्यसपछि स्थायी समितिको बैठकले संगठन नेतृत्वसहित सम्पूर्ण (पाँचै जना) नामावली टुंगो लगाई पार्टीले परिपत्र समेत प्रेषित गरिसकेको छ । नगरकोट सम्मेलनबाट ५१ सदस्यीय केन्द्रीय समिति रहने गरी तत्काल ४८ केन्द्रीय सदस्यको नाम पारित गरी मातृ पार्टीलाई बुझाइएको थियो । पछि पार्टीको स्थायी समिति बैठकबाट अध्यक्षमा प्रकाश डुम्रे, उपाध्यक्षमा डिल्लीराज रावत, महासचिवमा हिम विष्ट, सचिवमा सिर्जना तिम्सिना र कोषाध्यक्षमा जानकी दहित रहने निर्णय गरिएको हो ।

प्रतिक्रियाहरु

[anycomment]