प्रकाण्डलाई पुन: ३ दिन म्याद थप

काठमाडौं, १३ भदौ । जिल्ला अदालत नुवाकोटले नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डलाई ३ दिन म्याद गरेको छ । भदौ ७ गर्ते सर्वोच्चको आदेशमा रिहा भएलगत्तै अदालत परिसरबाट गिरफरतार गरी नुवाकोट सदरमुकाम विदुरस्थित जिप्रका हिरासतमा राखिएका प्रवक्ता प्रकाण्डलाई जिप्रका विदुर नुवाकोटले थप अनुसन्धानका लागि भन्दै म्याद थपको अनुमति मागसहित जिल्ला अदालतमा आज बुधबार उपस्थित गराएको थियो । जसमा माग गरेबमोजिम नदिई अदालतले जम्मा ३ दिन मात्र म्याद गरेर अनुसन्धान गर्न अनुमति दिएको हो । गत आइतबार ३ दिन थप गरेको म्याद हिजोबाट सकिएको थियो ।
गत साउन २२ गते पार्टीको कामको सिलसिलामा हेटौडाबाट काठमाडौं आउँदै काठमाडौंको टौदहनजिक चाल्नाखेलबाट गिरफ्तार गरिएका प्रवक्ता प्रकाण्डलाई भदौ १ र ७ गते गरी दुई पटक रिहाईको आदेशमा थुनामुक्त भएपनि सरकारले पुनः गिरफ्तार गर्दै विभिन्न अभियोगमा फरकफरक जिल्ला पुर्याएर प्रहरी हिरासतमा राख्दै आएको छ ।
तेस्रोपटक दर्ता भएको बन्दी प्रत्यक्षीकरण रिटमाथि गत आइतबार सर्वोच्च अदालतले बाटोको म्यादबाहेक २४ घण्टाभित्र प्रकाण्डलाई गिरफ्तारको गर्नुको लिखित कारण पेश गर्न सरकारको नाममा आदेश दिएपनि सरकारले उक्त आदेशको पालना गरेको छैन । रिट प्रकाण्डका भाई विरेन्द्र विकले भदौ ८ गते दर्ता गरेका थिए ।