नेकपाका केन्द्रीय सदस्य लिम्बूसहितका नेता गिफ्तार

काठमाडौं, १३ भदौ । नेपाल कम्युनिस्ट पार्टीका मेची ब्यूरो ईन्चार्ज तथा केन्द्रीय सदस्य सुमन लिम्बूलाई प्रहरीले गिरफ्तार गरेको छ । भर्खरै प्राप्त समाचार अनुसार लिम्बूलाई केहीबेर अघिमात्र झापाबाट सादा पोशाकमा आएका प्रहरीले गिरफ्तार गरेको हो । गिरफ्तारपछि नेता लिम्बूलाई कहाँ लगियो र कहाँ राखियो ? भन्ने जानकारी दिइएको छैन ।नेता लिम्बूलाई बिनाकारण गिरफ्तार गरेर अवस्था अज्ञात राखेको भन्दै उनको जीवन रक्षाको माग गरेको छ । सरकारले राजनीतिक प्रतिशोधी भावनाले नेकपाका नेता कार्यकर्तामाथि दमन र धरपकड मच्चाएको भ न्दै नेकपा मेची ब्यूरोले लिम्बूको बिनासर्त अविलम्ब रिहा गर्न माग गरेको छ । लिम्बूसँगै गिरफ्तार परी हिरासतमा राखिने नेकपा केन्द्रीय सदस्यहरुको संख्या ६ पुगेको छ । यसअघि केन्द्रीय सदस्यहरु देवनारायण साह, दिपेश राई, किरण राई, चन्द्रबहादुर खडका र टेकबहादुर केसीलाई फरकफरक मितिमा र स्थानबाट गिरफ्तार गरी अनुसन्धानको नाममा हिरासतमा राख्दै आएको छ ।
यसैगरी,प्रहरीले नेपाल कम्युनिस्ट पार्टीको भक्तपुर जिल्ला कमिटी सचिवालयका दुई सदस्यलाई गिरफ्तार गरेको छ । आफ्नो डेरातर्फ आइरहेको बेला सूर्यविनायक चोकबाट हिजो मंगलबार साँझ करिब ७ बजे सचिवालय सदस्य धु्रव किराँती र गुमुरा राईलाई सादा पोशाकका प्रहरीले गिरफ्तार गरेको हो । गिरफ्तारपछि करिब १५ घण्टासम्म बेपत्ता बनाई मंगलबार बिहान मात्र सार्वजनिक गरिएको थियो । आजै भक्तपुर जिल्ला अदालतमा पेश गरेर म्याद थप गरिएको छ । डेरा फर्कदै गरेको अवस्थामा बिनाकारण सचिवालय सदस्य एवं जिल्ला नेताद्वय किराँती र राईलाई सरकारले गिरफ्तार गरी लामो समयसम्म अवस्था अज्ञात राखेको भन्दै भक्तपुरका सेक्रेटरी लालकिरणले आपत्ति जनाएका छन् ।
‘हाम्रो संगठनको सचिवलाय सदस्यसमेत रहेका जिल्ला नेताद्वय धु्रव किराँती र गुमुरा राई दलाल सरकारले बिनाकारण गिरफ्तार गरेर बेपत्ता पार्ने कोशिस गरेको छ, जसको जिल्ला पार्टी भक्तपुर घोरभत्सर्ना गर्दछ’ सेक्रेटरी लालकिरणले भने । गिरफ्तारपछि दुवै जनालाई चरम यातना दिएको र घरपरिवारलाई समेत भेट गर्न नदिइएको भन्दै सरकार र प्रशासनको रवैयाप्रति उनले खेद व्यक्त गरे । साथै उनले गिरफ्तार दुई जनालाई निसर्त अविलम्ब रिहा गर्न र नागरिकको राजनीतिक अधिकारमाथिको दमन बन्द गर्न सरकारलाई चेतावनी समेत दिएका छन् । रिहाई नगरिए कडा संघर्षका कार्यक्रम घोषणा गर्न बाध्य हुने र त्यसपछि उत्पन्न परिणामको जिम्मेवार सरकार स्वयं हुने उनले बताएका छन् ।