गण्डकमा नेकपाको अभियान तीव्र

काठमाडौं , १६ भदौ । नेपाल कम्युनिस्ट पार्टीले गण्डकमा अभियान तीव्र बनाएको छ । सो पार्टीको केन्द्रीय कार्यक्रमअनुसार भदौ १ गतेदेखि सुरु भएको ‘सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान’ गण्डक ब्युरोमा पनि तीव्र भएको गण्डक ब्युरो सदस्य तथा तनहुँका इन्चार्ज उभारले जानकारी दिएका छन् । उभारको नेतृत्वमा कास्की र पर्वतको गाउँदेखि सहरसम्म अभियान चलिरहेको छ । अभियान टोलीहरूले पर्वतको मोदी गाउँपालिका, राम्जा, चित्रे, नेपाने, ओदारे, कास्कीको अन्नपूर्ण गाउँपालिका, सल्यान, भदौरे–लुम्लेमा ‘भ्रष्टाचारीको सम्पत्ति राष्ट्रियकरण गर ! वैज्ञानिक समाजवाद स्थापना गरौँ ! कर र महँगी बढाउन पाइँदैन । दलाल सरकार चाहिँदैन’ लगायत नारा भित्ताभित्तामा लेखेका छन् ।त्यस्तै उक्त अभियान टोलीले एकाइ समिति निर्माणदेखि भेला र प्रशिक्षणसम्म सञ्चालन गरेको बताइएको छ । नेकपाको चारमहिने यो अभियान देशका चारवटै कमान्डमा चलिरहेको नेकपाले जनाएको छ ।