जीवन्त र गम्भीरलाई २४ गतेभित्र सर्वोच्चमा उपस्थित गराउन आदेश

काठमाडौं, २२ भदौ । सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी पोलिटब्युरो सदस्यद्वय मोहनबहादुर कार्की ‘जीवन्त’ र कृष्ण धमला ‘गम्भीर’लाई लिखित जवाफसहित भदौ २४ गते अदालतमा उपस्थित गराउन आदेश दिएको छ । गैरकानूनी ढंगले गिरफ्तार गरी प्रहरीले हिरासतमा बन्दी बनाएको भन्दै थुना मुक्तको माग राखेर धमला पुत्र चेतन शर्माले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमाथि बुधबार सुनुवाई गर्दै सर्वोच्चले सो आदेश दिएको हो । रिट उपर सुनुवाई गर्दै कामु प्रधान न्यायधीश ओमप्रकश मिश्रले एकल इजलासले बन्दीलाई हिरासतमा राख्नुको कारणको जवाफ माग्दै भदौ २४ गतेभित्र बन्दीहरुलाई उपस्थित गराउन सरकार, गृहमन्त्रालय, नुवाकोट जिल्ला प्रहरीलगायत विपक्षीको नाममा आदेश जारी गरेको छ ।
जीवन्त र गम्भीरलाई गत साउन १० गते बुटवलबाट काठमाडौँ आउदै गरेको बेला सीआईबीको टोलीले नागडढुंगाबाट गिरफ्तार गरेको थियो । हाल उनीहरुलाई दोस्रोपटक गिरफ्तार गरी आगजनीको अभियोगमा अनुसन्धानमा लागि भन्दै नुवाकोट सदरमुकाम विदुरस्थित प्रहरी हिरासतमा राखिएको छ । यसअघि काभ्रे प्रहरीले संगिठन अपराधको अभियोगमा मुद्दा चलाइरहेको बेला बन्दी प्रयक्षीकरण रिटमाथि सुनुवाई गर्दै उनीहरुमाथि अभियोगबारे जिल्ला प्रहरी र सरकारले पठाएको जवाफ प्रमाण नपुगेको भन्दै न्यायाधीशद्वय डम्बरबहादुर शाही र शारदाप्रसाद घिमिरेको संयुक्त इजलासल तत्काल रिहा गर्न भदौ १८ गते आदेश दिएको थियो । तर रिहालगत्तै सर्वोच्च परिसरबाटै गिरफ्तार गरी नुवकोट पठाइएको थियो ।