दुइटा नेपाल – बलराम तिमल्सिना

२०७५ भाद्र ३० गते, शनिबार

तिमी भन्छौ-
नेपाल एउटा मात्र छ !
म भन्छु-
हैन नेपाल दुइटा छ !

एउटा हुने खानेको नेपाल
खेतानको /दुग्गडको
केडियाको /खेतानको
कमरेड सुमार्गीको
दहाल देउवा र ओलीको
शाह राणा र थापाको
सुन चोर मुर्ती चोर राजश्व चोरको
मत चोर ढुकुटी चोर र सपना चोरको !

भ्रष्ट हाकिम
ठग ठेकेदार
नाफाखोर व्यापारी
र गरीवमारा सरकारको नेपाल !

हुने खानेको नेपाल
स्वर्ग जस्तै सुन्दर छ
भव्य छ दिव्य छ सुरम्भ्य छ
संसारका मान्छेहरू
सुख शान्ति र समृध्दि खोज्न
या नमरी स्वर्ग भोग्न
खुरु खुरु आए हुने छ !

हिमाल छन
झरना छन
ताल तलैया छन
पहाड र बेंसीहरू छन
गन्धर्व छन अप्सरा छन
जे खोज्यो ती सवै कुरा छन !

यहींनिर छ अर्को नेपाल !
भोक, गरीवी
दमन , उत्पीडन
व्यभिचार, अत्याचार
अन्याय , भेदभाव
अपमान , अभाव
यी सवै पिएर वाँचेको नेपाल !

कस्ले कति वेला ठग्ने हो भनेर
आतङ्कित उपभोक्ताहरू
कसले घुष माग्ने हो भनेर
त्राहीमाम सेवाग्राहीहरू
ताउलोमा भोक उमालेर
भोक पिएर भोक मार्नेहरू
हरेक विहानीको खवरले संत्रस्त
अभिभावक र छोरीहरू
हरेक दिन केशरमहलमा
राहदानीको लाइनमा बसेका
चालीस कटेपछि रमाउँने
रहर पोको पारेर मनमा
अरव उडेका मालचरीहरू
हो यी अभिसप्तहरूको अलग्गै नेपाल छ !

एउटा मुखबाट जन्मनेको नेपाल
अर्को पिँधबाट जन्मनेको नेपाल
भाले प्रजातिको एउटा नेपाल
पोथी प्रजातिको अर्कै नेपाल
छुतहरूको नेपाल
अछुतहरूको नेपाल
अघाएर बिसंचो भएकाहरूको
अघाएको कल्पना गर्नेहरूको
दुई अलग अलग नेपाल छन् !

हेर्दा एउटै देखिए पनि
जव दुई थरि मानिस बस्छन
जव दुई थरि जीवन वाँच्छन
जव दुई थरि सपना देख्छन
देश एउटा हुनै सक्दैन !

जसले जे सुकै भनोस
नेपाल एउटा हैन दुइटा छ
तिमी जुन नेपालको नागरिक हौ
म त्यो नेपालको नागरिक नहुन सक्छु !

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

तिम्रा पदचापहरु

२०८२ असार ३ गते, मंगलवार