स्थानीयबासी र प्रहरीबिच झडप
काठमाडौं, १५ असोज । काभ्रेको साँगादेखि धुलिखेलसम्म पहिचान भएका १ सय ५६ घर टहरा भत्काउन सुरु गरिएपछि स्थानीयबासी र प्रहरीबिच झडप भएको छ । आफूहरु लामो समयदेखि व्यवसाय गर्दै आएकाले दशै तिहारपछि मात्रै भत्काउन स्थानीयले आग्रह गर्दा प्रशासनले जबरजस्ती गर्न खोजेको भन्दै स्थानीय केही समय प्रतिकारमा समेत उत्रिएका थिए । पहिलो चरणमा काभ्रे र भक्तपुरको सिमाना साँगावाट अरनिको राजमार्गमा अनाधिकृत रुपमा बनेका घर टहरा हटाउने निर्णयलाई कार्यान्वयन गराउन प्रहरीले साँगामा अनाधिकृत रुपमा बनेका घर टहरा भत्काउन सुरु गरेको हो ।
५० बर्षअघिदेखि सडक मापदण्ड पूरा नगरेका घर टहरा भत्काउने निर्णय भएसँगै सडक डिभिजन कार्यालय भक्तपुर, जिल्ला प्रशासन कार्यालय काभ्रे, जिल्ला प्रहरी कार्यालय काभ्रे, बनेपा नगरपालिका र धुलिखेल नगरपालिकाले निर्णय गरेको थियो । सोमवार सयौं संख्यामा रहेका नेपाल प्रहरी, शसस्त्र प्रहरीको सहयोगमा सडक डिभिजन कार्यालयले घर टहरा भत्काउन सुरु गरेको हो । उनीहरुले राजमार्गमा अवरोध समेत गरेका थिए । अवरोधमा उत्रिए पछि होटल पसलवाट सामान हटाउन उनीहरुलाई २ घन्टाको समय दिइएको थियो । दुई घन्टामा सामान हटाएपनि घर टहरा भत्काउने क्रममा स्थानीय र प्रहरीबीच झडप भएको थियो । झडप रोक्न प्रहरीले केही सेल अश्रुग्यास प्रहार गरेको छ । झडपपछि अरनिको राजमार्गको साँगा खण्डमा यातायात अबरुद्ध रहेको छ ।